अरनिको पछिपछि

श्रोतः http://annapurnapost.com/news/115253

सुमन कट्टेल

फुर्सद

२९ मङि्सर २०७५

यात्रा

समाचारका पानामा, टेलिभिजनका पर्दामा र साथीका मुखबाट सुनिएको चीनको राजधानी बेइजिङ मेरा आँखाअगाडि थियो। चीनमा पाइला टेकेदेखि अरनिकोले बनाएको चैत्य हेर्ने अभिलाषा बढिरहेको थियो। झन् साथी बालकृष्ण शाक्य त बुद्ध धर्मका अध्येता र अनुशीलनकर्ता !

हामी नेपाली थियौं २८ जना तर सबैका रुचि फरक फरक। धेरैजसो साथी बेइजिङको रमझम हेर्न रुचाउने, केही खरिददारीतिर। हामी दुई जनाको फरक स्वाद थियो। शिक्षिका पाइरेजी र दोभाषे इस्टेलालाई भन्यौं, चिन्थ्यान वमन याओ छु पाई सी था।

(हामी दुई जना आज श्वेत चैत्य हेर्न जान्छौं)। ४२ नं.को बस चढेपछि हामीलाई अलिअलि डर लाग्यो, कतै बाटो बिराइयो भने ! तर धेरै दिन बेइजिङ बसिसकेकाले हराइन्न भन्ने विश्वास पनि थियो। बसको भित्तामा बेहाइपार्क स्टेसनको नाम देखा पर्‍यो। हामी हतारहतार ओर्लियौं।

टिकट काटेर भित्र छिर्‍यौं। टिकटको मूल्य २० युआन अर्थात् ३२० नेपाली। हाम्रा लागि त्यो पैसा महँगो नै हो तर नेपालमा सधैं गर्वका साथ लिइने नाम अरनिकोले बनाएको चैत्य हेर्न पाएका थियौं। गर्वले अलिअलि सास फुलेको थियो, छाती पनि चौडा भएजस्तो लाग्यो।

भित्र छिर्नेबित्तिकै माथि डाँडामा देखिएको चैत्यबाट नेपालको सुवास फैलिइरहेझैं लाग्यो। चारैतिर पानीका लहर, पानीमाथि डुंगा, कमलका फूलहरू। आहा कति सुन्दर, कतै स्वर्ग आएजस्तो।

काठमाडौंको बीचमा एउटा टापु उभिएको स्वयम्भूजस्तै पेहाइ पार्कको टुप्पामा सेतो चैत्य अर्थात् ह्वाइट डागोडा ! हामी दायाबायाँका अन्य दृश्यमा भुलेनौं। बोटिङतिर पनि हामी तानिएनौं। हाम्रो आँखामा किताबमा पढेको चैत्य खडा थियो।

हामी सीधा चैत्यतिर लम्कियौं। चैत्यमा जान अर्को टिकट किन्नुपर्ने रहेछ। साथी शंकर केसीले नेपालीलाई टिकट लाग्दैन भनेर जानकारी दिएका थिए। त्यसैले काउन्टरमा बसेकी महिलालाई गर्वका साथ सोध्यौं, ‘व सी निवोआर रेन। वमन यिन्काइ माइ पियो मा !’ (हामी नेपाली हौं, के हामीले टिकट किन्नुपर्छ ? ) उनले टिकट किन्नैपर्ने बताइन्। धेरै गलफत्ती गर्नतिर नलागी १० युआनको टिकट काट्यौं र सिँढी चढ्दै उकालो लाग्यौं।

एउटा कक्षमा प्रवेश गर्‍यौं। बुद्धका मूर्तिहरू ! आस्थावान् व्यक्तिले पानी, केरा र पैसा पनि चढाउने रहेछन्। हामीले श्रद्धाले शिर निहुर्‍यायौं। नेपालकै गुम्बातिर पसेजस्तो लाग्यो। चिनियाँँहरू पनि झुकेर अभिवादन गर्दै थिए। बायाँपट्टि भित्तामा थुपै्र मूर्ति थिए। नरमुण्डको माला लगाएकी महादेवी, अमिताभ बुद्ध, मञ्जु श्री, आर्यावलोकितेश्वर, श्वेततारा र बौद्धधर्मका अन्य देवदेवीहरू।

हिन्दु र बौद्धको सिमाना छुट्ट्याउन यहाँनेर मलाई गाह्रो भयो। साथी बालकृष्णले भने, ‘तिब्बती बौद्ध सम्प्रदाय महायानअनुसारका मूर्ति र देवदेवी हुन्। तर, मलाई ती सबै मूर्ति हिन्दुका जस्तै लागे।’ दायाँतिर पनि यस्तै मूर्तिहरू थिए। छाउनी संग्रहालयमा देखेका जस्ता भैरव र अन्य देवदेवीका मूर्तिहरू पनि यहाँ थिए। काठमाडौंको मूर्तिकलाले यहाँ यस्तो स्थान पाएको भनी हामी गर्वले फुल्यौं। ढोकाको सामुन्ने भने पञ्चबुद्धका विशाल मूर्तिहरू थिए। विभिन्न देवदेवीका ती मूर्तिहरूको तस्बिर खिच्न नपाइने रहेछ। साह्रै नमज्जा मानेर त्यहाँबाट बाहिरियौंं।

थान्काहरूका चित्र सबै नेपालीजस्ता लागे। तर, हिमाली बौद्ध संस्कृतिको अंग तिब्बत भएकाले त्यहाँका देवदेवी सबै हामीसँग मिल्ने रहेछन्। तन्त्र र बौद्ध धर्मको समन्वय भएपछिका प्रभाव हो भन्ने मलाई लाग्यो। चीनको बौद्ध धर्ममा सबैतिर तिब्बती बौद्ध धर्मको प्रभाव नपरेजस्तो मलाई लाग्यो। अर्कोपट्टि भवनमा गयौं। त्यहाँ पूजा गर्दा प्रयोग हुने घण्ट, शंख, वज्र लगायतका सामग्री रहेछन्। नेपालकै कुनै संग्रहालयमा पुगेको अनुभूति भयो। हाम्रो गन्तव्य त ह्वाइट डागोडा थियो। त्यहाँबाट पनि माथि उक्लियौं।

मुख्य चैत्यमा पुगेपछि हाम्रो आनन्दको सीमा थिएन। ह्वाइट डागोडा (श्वेत चैत्य) पूरै नेपाली शैलीमा थियो। अग्लो डाँडाबाट सायद कुनै बेला पूरै बेइजिङ देखिँदो हो। यहाँ घन्ट थियो र त्यसको आवाज धेरै टाढासम्म पुग्थ्यो भन्ने हामीले सुनेको थियौं तर त्यस्तो नेपाली शैलीको घन्ट देखेनौं।

पर्यटकको भीड थियो। चैत्यलाई दुई फन्को लगायौं। चैत्यको टुप्पामा ॐं जस्तै केही लेखिएको थियो। त्यो न चिनियाँ लिपिजस्तो थियो, न त तिब्बती नै। यो पक्कै रञ्जना लिपि हुनपर्छ भन्ने हामीले लख काट्यौं। चैत्यलाई अझ माथिबाट हेर्न मिल्ने एउटा घर रहेछ तर त्यो बन्द गरिएको रहेछ। चैत्यको उत्तरपट्टि रहेको शिलालेखमा अरनिकोको नाम पाइन्छ कि ! नेपालको नाम कतै लेखेको छ कि ! पढ्न थाल्यौं तर निराश भयौं।

हामी अरनिको भनेर यत्रो सम्मान गर्छौैं, उनले बनाएको यत्रो भव्य चैत्य छ तर उनको नाम कतै छैन ! फलाना राजाले बनाएको, भूकम्पले क्षति पुर्‍याएको आदि अभिलेख छ तर अरनिकोको नाम छैन। हामी यहाँ नेपाल–चीन सम्बद्धको आधार अरनिको मान्छौं तर यत्रो कलामा उनको नाम छैन। किन यसो भयो ? हामीले मुखामुख गर्‍यौं। आखिर उनी कुब्लय खाँद्वारा निम्त्याइएका राजाको इच्छा पूरा गर्ने सामान्य कलाकार न थिए !

म दंग थिएँ, जीवनमा अरनिकोले बनाएको चैत्य, किताबमा पढेको इतिहास मैले आफ्नै आँखाले हेरेँ, पाइलाले स्पर्श गरेँ, बिरानो भूमिमा आफ्नै बुद्धका अगाडि शिर निहुराउन पाएँ। तल झरेर अगाडि थुम्को हेर्‍यौं, फेरि दर्शन गर्‍यौं। तल पार्कमा बसेर सुस्तायौं र फर्कियौं।

अरनिकोको सालिक

होटल फर्किएपछि हतारहतार अरनिकोले बनाएको चैत्य भनी पेहाइ पार्कमा खिचेको फोटो अपलोड गरेँ। तर, भोलिपल्ट साथीहरूको फेसबुक हेर्दा म त ट्वाँ। साथीहरूले अरनिकोको सालिक पो पोस्ट गरेका छन्। हामीले चार फन्को लगाउँदा पत्ता नलगाएको अरनिकोको सालिक साथीहरूले कसरी देखे ? हामीले किन देखेनौं ? हामी चैत्य पूरै घुमे पनि पश्चिमतिरको बगैंचामा पुगेका थिएनौं।

त्यतैतिर रहेछ अरनिकोको सालिक ! धत्तेरिका ! अब फेरि जाने कि के गर्ने ? अरनिकोको सालिकसँग फोटो नखिचे त बेइजिङ बसाइ के काम ! फेरि जाऊँ, मैले साथीलाई भनेँ। साथीले चैत्य हेरिहालियो, त्यतिका लागि नजाऊँ होला भने।

त्यसको पर्सिपल्ट थाहा पायौं, अरनिकोको सालिक भएको चैत्य त म्याओयिङ पार्क पो रहेछ। पेहाई पार्कभन्दा तीन स्टेसन पर ओर्लिएर जानुपर्ने रहेछ। भोलिपल्ट हामीलाई नेपाल फर्कनु छ। एक दिन मात्रै बाँकी छ ! हामी जिल्लाराम पर्‍यौं। हामीलाई जसरी पनि अरनिकोले बनाएको चैत्य पुग्नु थियो, अरनिकोको सालिक हेर्नु थियो। केही साथी त्यहाँ जान नपाएकोमा चुक्चुकाइरहेका रहेछन्। हामी पाँचसात जना त्यहाँ जान तयार भयौं।

पेहाइ पार्कभन्दा तीन स्टप पर ओर्लियौं। एउटा ढोका अगाडि रोकियौं। त्यहाँ म्याओयाङकै जस्तो भवन देखियो। हामी सबैको अनुहार खुम्चियो। आज सोमबार बन्द छ भनेर सूचना टाँगिएको रहेछ। ढोकामा एक जना गार्ड देखिए। उनलाई हामीले अनुनय विनय गर्‍यौं। हामीले त्यहाँ कुनै उपल्लो तहका कर्मचारीलाई भेटाइदिन आग्रह गर्‍यौं। एक जना महिला ढोकामा आइपुगिन्। उनलाई पनि हामीले निकै अनुरोध गर्‍यौं। भोलि हामी नेपाल फर्कंदै छौं, आज एकपटक पाँच मिनेटका लागि यहाँभित्र छिर्न दिनुहोस् भन्यौं। भाषाको समस्या निकै थियो।

नेपालीमै पनि हामीले नमस्कार गर्दै जसरी पनि हामीलाई एकपटक यहाँ हेर्न दिनुहोस् भन्यौं। सबैको अनुरोध सुनेर ती महिलाले अर्को एक जना व्यक्तिलाई बोलाइन्। बिदा भएकाले कोही पनि हाकिम छैनन्, हामीलाई अनुमति दिने अधिकार छैन भन्दै उनले माफी मागिरहे। साथी श्याम ज्ञवालीले हात जोड्दै नेपाली पासपोर्ट देखाउनुभयो। तर, उनले क्षमा मागिरहे, भित्र जान अनुमति दिएनन्। सबै जनाले खुइड्ढय गर्‍यौं। हाम्रो भाग्यले साथ दिएन।

अरनिको हेर्न नपाए पनि केही त हेर्नै पर्‍यो। नत्र हाम्रो आजको दिन खेर जाने भयो भन्ने सोच्यौं। अलि पर पुगेपछि कुनै प्राचीन स्मारकजस्तो देखियो। भित्र छिरेपछि देख्यौं, यो त साथीहरूले फेसबुकमा हालेको फोटोसँग मिल्ने ठाउँ पो छ।

एउटा भवन काटेर अगाडि गएको त ट्याक्क उभिएका युवा अरनिको। आहा ! सबैको मुखबाट अचानक निक्लियो। हामी यति गौरवान्वित भयौं कि हाम्रो विशालता, हाम्रो कलाकारिता पूरै चीनमा गौरवका साथ खडा भएजस्तो लाग्यो। हामीले पछि थाहा पायौं, हामी झुक्किएको ठाउँ त म्याओयिङ टेम्पल नजिकै रहेको पर्यटकीय गन्तव्य टेम्पल अफ एन्सिएन्ट मोनाक्र्स पो रहेछ ! भाग्यमा लेखेकै रहेछ, हामी सबै प्रसन्न भयौं।

परदेश गएर फर्किएको मान्छेले आफ्नो घरको चारै कुना हेरेझैं हामी कुनाकुना हेर्न थाल्यौं। यहाँ तीनवटा हल रहेछन्। एउटामा बुद्धका सात हजार मूर्ति छन् रे। हामी दंग परेर हेर्दै थियौं। एक हूल चिनियाँ पर्यटक एकजना गाइडका साथ त्यहाँ आइपुगे। ती गाइडलाई मैले हामीहरू नेपाली हौं भनेर चिनियाँँ भाषामा बताएँ। उनले त्यो हूललाई ‘थामन सी नबोआर रेन।

च ग पाइसे त सि नेबोआर त च्यान सु’ (यिनीहरू नेपाली हुन्। यो श्वेत चैत्य नेपालका कलाकारले बनाएका हुन्) भन्दै उनीहरूलाई सुनाए। ती पर्यटक दंग परेर हामीलाई हेर्दै थिए। मैले, ‘स्या वहा, रेनसी नि’ (शुभ दिन तपाईंहरूलाई देखेर खुसी लाग्यो) भन्दै जवाफ फर्काएँ।

अर्को हलमा चैत्यका विभिन्न सामग्री राखिएका रहेछन्। यो चैत्यमा आगलागी भएर क्षति पुगेको रहेछ। राष्ट्रपति चाउ एन लाईले यसको जीर्णोद्धार गरेर राष्ट्रिय सम्पदाको रूप दिएका रहेछन्। पेहाई पार्कको ह्वाइट डागोडा र म्याओयिङ टेम्पलको ह्वाइट डागोडाको बनोट र नाम उस्तै भएकाले हामी झुक्किएका रहेछौं।

म्याओयिङमा नेपाली देखेपछि टिकटको कुरै नगर्ने रहेछन्। यी दुई पार्कको इतिहास पनि उस्तै रहेछ। सन् १२७२ मा कुब्लय खानले युआन राजवंश स्थापना गरे। तिब्बत र चीनबीच सम्बन्ध स्थापना गर्न उनले ह्वाइट डागोडा निर्माण गर्न तिब्बतबाट कलाकार मगाएका रहेछन्। सन् १२७९ मा यसको निर्माण सम्पन्न भएको थियो। सन् १३६८ मा आगलागी भए पनि ह्वाइट डागोडा केही भएन।

मिङ वंशका सम्राट् थ्यानसनले योभन्दा सानो आकारमा डागोडा बनाउन निर्देशन दिए। यसैको नाम म्याओयिङ टेम्पल रहेछ। सुरुमा यही म्याओयिङ टेम्पलमा नै हामी अरनिकोको सालिक खोज्दै पुगेका थियौं। पेहाइपार्कको ह्वाइट डागोडा पनि अरनिकोले नै बनाएको प्रतीत हुन्छ। तर, हामी इतिहासविद् थिएनौं, न त संस्कृतिविद् नै। त्यहाँ हामीले त्यस्तो विज्ञ पनि कोही भेटेनौं। हाम्रो बुझाइमा दुवै अरनिकोको निर्देशनमा बनेका हुन्।

म्याओयिङ मन्दिरमा ह्वाइट डागोडा र चारवटा हल रहेछन्। हलमा बौद्धसम्बन्धी शास्त्रीय अभिलेख, पञ्चबुद्ध र अन्य महत्वपूर्ण वस्तुहरू छन्। डागोडामा क्यान यिन बोधिसत्वको मूर्ति छ, जसका हजार हात र आँखा छन् भनिन्छ। यो ४० वटा रुबी प्रयोग भएको कांस्य मूर्ति हो। तर हामीले यो देख्न पाएनौं। चैत्यको माथि जाने बाटो नै बन्द गरिएको रहेछ।

चैत्यको मूल प्रवेशद्वारको माथि दुईतिर मृगका पाठाहरूको प्रतिकृति देख्दा नेपालतिरकै कुनै गुम्बाजस्तै थियो। युआन वंशको शासनमा यो मन्दिरलाई राजसी कार्यका लागि प्रयोग गरिन्थ्यो। दरबारमा हुने धार्मिक विधानको यहाँ रिहर्सल गरिन्थ्यो रे। कुब्लय खानको मृत्यु संस्कार पनि यहीँ गरिएको रहेछ। छिङ वंशको पालामा यसको महत्व झनै बढेको थियो। अक्टोबर २५ मा हरेक वर्ष यहाँ तिब्बती लामाहरू आउने रहेछन् र एक किसिमले मेला नै लाग्ने रहेछ।

पेहाइ पार्कको ह्वाइट डागोडालाई हामीले कसरी अरनिकोले बनाएको भनेर झुक्कियौं ? हामीलाई राजदूत लीलामणि पौड्यालले पनि पेहाइ पार्क नै भनेका थिए। पछि थाहा भयो, यस्ता थुपै्र चैत्य (ह्वाइट प्यागोडा) अरनिकोले बनाएका रहेछन्। त्यसमा तीनवटा चाहिँ महत्वपूर्ण रहेछन्।

आफ्नो देशको कलाकारले बनाएको स्तूपालाई चार फन्को लगायौं। आफ्नै देशमा पुगेजस्तो भयो। अरनिकोको सालिक हालसालै स्थापना गरिएको रहेछ। त्यो सालिक चिनियाँ सरकारले स्थापना गरेको होला भन्ने थियो तर होइन रहेछ। हाम्रो मन खिस्रिक्क भयो। जसले राखे पनि नेपाली पोसाक लगाएर, शिरमा टोपी लगाएका नेपाली कलाकार भएकाले हाम्रो गर्व कम हुनुपर्ने कारण देखेनौं। चिनियाँँ, अंग्रेजी र नेपाली भाषामा शिलालेख सँगै रहेछ।

केही भक्त हात जोेडेर स्तूपा परिक्रमा गर्दै थिए। त्यहाँ जान अन्यलाई १० युआन प्रवेश शुल्क रहेछ। ध्यान गर्न पनि कोहीकोही आउने रहेछन्। नेपाली कलाको अद्वितीय नमुना हेर्दै केही बेर थकाइ मार्‍यौं। धीत मरुन्जेल फोटो खिच्यौं। झन्डै डेढ घण्टा बितायौं यहाँ। हामी थाकेका थियौं तर प्रसन्न थियौं।