स्पाइनल कर्ड इञ्जुरी नेटवर्कलाई एक लाख २५ हजार रुपैयाँ प्रदान

श्रोतः https://deshsanchar.com/2019/01/03/141837/?fbclid=IwAR2JdBVE8Ipjnh9zVVQNJq-vcBx41MGN7OgRX0a4xHDhF-4dHYRlAJpssYg

पुस १९, २०७५

काठमाडौँ – राजधानीको रहेको स्पाइनल कर्ड इञ्जुरी नेटवर्कलाई नेपाल म्युजियम एशोसिएशनको समन्वयमा जम्मा भएको एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।

बौद्ध, माकलवारीमा रहेको स्पाइनल इञ्जुरी नेटवर्कले स्वाबलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ। उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिएका हुन्।

सहयोग रकम अन्तरराष्ट्रिय म्युजियम एशोसिएशन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी विजयकुमार थापा र डिसेबिलिटी मिडिया फाउण्डेशन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

नेपाल म्युजियम एशोसिएशनका संयोजक पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले स्वाबलम्बन जीवन पद्धतिमा आधारित भई सक्रिय जीवन बाँचिरहेका स्पाइनल इञ्जुरी भएका युवा भाइबहिनीका लागि सानो भएपनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गरेका छन्।

स्पाइनल कर्ड इञ्जुरी नेटवर्कका उपाध्यक्ष बाबुराम मिश्रले स्पाइनल कर्ड इञ्जुरीपछि अध्ययन, जीविकोपार्जन लगायतका विषयमा यावत समस्या हुने बताउँदै कम्तिमा प्लस टु तहसम्म अध्ययन गर्नका लागि सहज होस् भनेर होस्टल सञ्चालन गरिएको भएपनि लागतका कारण सञ्चालनमा समस्या भइरहेको बताएका छन्।

‘हामीले नगरपालिकासँग पनि स्थान उपलब्ध गराइदिन माग गरेका छौँ, मुखले धेरैले सहयोगका बचन दिन्छन्, तर फेरि फर्केर आउँदैनन,’ उनले भने।

म्युजियम एशोसिएशनका तर्फबाट सहयोग उपलब्ध गराउन पहल गरिदिने डा. बस्न्यातप्रति आभार व्यक्त गरेका छन्।

अपांगता अधिकारकर्मी एवं सञ्चारकर्मी बुढाथोकीले स्पाइनल कर्ड इञ्जुरी भएका व्यक्तिहरुका लागि राज्यले सातै प्रदेशमा जीविकोपार्जनका कार्यक्रमसहितका पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन्।