पाँचखालमा ‘लिच्छविकालीन’ भग्नावशेष भेटियो

श्रोतः http://annapurnapost.com/news/131300

सुरेन्द्र काफ्ले

असार २०, २०७६

काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखाल–७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन्। पुरातत्त्व विभागको टोलीले हालै करिब दुई साता यसको उत्खनन् गरेको थियो। त्यस क्रममा खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले चलाएको मुद्रा मानांकलगायत भेटिएको हो।

पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ। रानीपोखरी दरबारसमेत फेला परेको उत्खनन्मा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए। उनका अनुसार उत्खनन्का क्रममा पुरातात्त्विक अभिलेख फेला परेको छ। ती अभिलेख १२–१३औं शताब्दीको भएको अनुमान छ। ‘हामीले १२–१३ दिन उत्खनन् गरेका थियौं’, उनले भने, ‘त्यहाँ खानेपानीका तीनवटा पुराना पाइपलाइन भेटिए। एउटा भवनको जग भेटियो।’

उनका अनुसार पुरानो कुवाबाट श्रीरामपाटी बजार हुँदै किटनीको चौर रानीपोखरीसम्म (डेढ किलोमिटर)को पाइपलाइन छ। अर्को काँगियोको कुवाबाट किटनी चौर हुँदै रानीपोखरीमा खसाइएको सवा किलोमिटरको पाइपलाइन छ। यस्तै, झिकु खोला बाँध बाँधेर घट्टेकुलो, श्रीरामपाटी ढापखोला हुँदै रानीपोखरीमा झारिएको अर्को पाइपलाइन पनि छ।

१२–१३ औं शताब्दीका इँटा, सिलौटा, माटाका भाँडा पनि पाइएको छ। नारायणको मूर्तिसमेत फेला परेको छ। तत्कालीन नेपाल र चिनियाँ पक्षबीच उपहार अदानप्रदान गरेको अभिलेख पनि भेटिएको छ। त्यस सम्बन्धमा अध्ययन भइरहेको उनले बताए। ‘प्रारम्भिक उत्खनन्मा ऐतिहासिक प्रमाण भेटिएका छन्’, उनले भने, ‘ती लिच्छविकालीन हुन्।’ मानदेवको पालाको मुद्रा मानांक, अंशु बर्माको पालाका सिक्कासमेत पाइएको छ। सिक्काको एक पाटोमा ‘भोगिनी’ लेखिएको छ। अर्को पाटामा सिंहको चित्र छ। आचार्यका अनुसार भोगिनी पाली भाषा हो।

यसबारे स्थानीयले जानकारी दिएपछि विभागबाट ६ जनाको टोली खटिएको थियो। विभागका पुरातत्त्व अधिकृत विष्णुप्रसाद पाठक नेतृत्वको टोलीमा विज्ञ आचार्यसहित इन्जिनियर सहभागी थिए। आचार्यले पाँचखालमा रहेको ऐतिहासिक र पुरातात्त्विक वस्तुको अध्ययन, अनुसन्धान र उत्खनन् गरिनुपर्ने बताए। स्थानीयका अनुसार पलाञ्चोक उपत्यकामा विसं. १४६२ तिर शक्ति सिंहले स्वतन्त्र किसिमले राज्य सञ्चालन गरेको कथन पाइन्छ। उनले पटक–पटक काठमाडौंमाथि आक्रमण गर्दै आधिपत्यसमेत हासिल गरेका थिए।

पाँचखाल नगरपालिकाले पलाञ्चोक उपत्यका पुरातात्त्विक खोज तथा संरक्षण समिति बनाएर अध्ययन थालेको छ। मेयर महेश खरेल पदेन अध्यक्ष छन्। समितिका सदस्यसचिव श्रीकृष्ण धिमालले खेतबारी खनजोत गर्ने क्रममा सयौं वर्ष पुराना इँटा, सिक्का (मानांक), घरको जग, भाँडाका टुक्रा फेला परेको जानकारी दिए। उनका अनुसार पाँचखालमा तत्कालीन राजा मानदेव र अंशु बर्माको दरबार तथा रानीपोखरीलगायत संरचना थिए। मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुंगेधारा रहेका र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको थियो। खेतका गरा खन्ने क्रममा २६ इन्चको पुरानो गारोसमेत भेटिएको छ।

रानीपोखरी रहेको भाग पुरिएपछि सोही थानमा स्थानीयले खेतीपाती गर्दै आएका छन्। विभागका प्रवक्ता रामबहादुर कुँवरले पाँचखालको प्राचीन, ऐतिहासिक अभिलेख र भग्नावशेष पाइएको बताए। यसको प्रतिवेदन तयार गर्ने काम भइरहेको उनले बताए। त्यसपछि मात्रै यथार्थ कुरा बाहिर आउने उनको भनाइ छ।