गोविन्द पोखरेल
संरक्षण
तत्कालीन राजाहरूले लगााउने श्रीपेच धेरैलाई याद हुन सक्छ । श्रीपेचमा जडित बहमूल्य धातु अनि त्यहाँ लगाइएको प्वाँख आखिरमा के हो ? राजाको श्रीपेचमा प्रयोग गरिने प्वाँख कुन चराको थियो ? यसको उत्तर प्राकृतिक विज्ञान संग्रहालयमा पाइन्छ ।
काठमाडौँ — नेपालमा पाइने जीव तथा वनस्पतिहरू एकै ठाउँमा अध्ययन गर्न चाहनेका लागि प्राकृतिक विज्ञान संग्राहलय एक महत्त्वपूर्ण पाठशाला बनिसकेको छ । संग्रहालयमा जीव, वनस्पति, फोसिल्सका असंख्य नमुना राखिएका छन् । हिमाली भेगमा पाइने डाँफे चरो, दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे), चरी बाघलगायतका ‘दुर्लभ’ प्रजाति नमुनालाई संग्रहालयमा राखिएको छ ।
कीराफटयांग्रा, माछा, उभयचर, सरिसृप, चराचुरुंगी, स्तनधारी, अविकसित मेरुदण्डीय प्राणी, वनस्पति गरी ५० हजारभन्दा बढी नमुना संग्रहालयमा पाउन सकिन्छ । नेपालबाट राम गाई (हरिण) लोप भएको ४० वर्ष भइसक्यो ।
‘माउस डियर’ को नामले समेत चिनिने यो हरिणलाई धेरैले बिर्सिएका छन् । वासस्थानको विनाश, मानवको अतिक्रमण लगायतका कारणले यो हरिण नेपालबाट लोप भएर गयो । ‘कतिपयले यसको नाम पनि सुनेका हुँदैनन् ।’ संग्रहालयका ट्याक्सिडर्मिस्ट देवेन्द्र महर्जन भन्छन्, ‘आगन्तुकहरू राम गाईको नमुना हेर्दै एकोहोरिने गरेका छन् ।’
सयौँ वर्षको वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान, परीक्षण गरी वनस्पति, प्राणी, तथा अन्य प्राकृतिक वस्तुको अभिलेखहरू तयार गरिन्छ । प्रकृति बुझ्नका लागि अभिलेखहरू महत्त्वपूर्ण हुने संग्रहालयका प्रमुख डाक्टर धर्मराज डंगोल बताउँछन् ।
तराई तथा गर्मी ठाउँमा पाइने राजगोमन सर्प काठमाडौंमा दुई दशकअघि पाइएको थियो । यो सर्पको अवशेष संग्रहालयमा सुरक्षित छ । प्रतिकूल मौसमको भूभागमा सर्प कसरी आयो भन्ने विषयमा इकोलोजी तथा सरसृपसम्बन्धी एउटा उल्लेख्य वैज्ञानिक अध्ययन आधार हुन सक्छ ।
तत्कालीन राजाहरूले लगााउने श्रीपेच धेरैलाई याद हुन सक्छ । श्रीपेचमा जडित बहमुल्य धातु अनि त्यहाँ लगाइएको प्वाँख आखिरमा के हो ? राजाको श्रीपेचमा प्रयोग गरिने प्वाँख कुन चराको थियो ? यसको उत्तर प्राकृतिक विज्ञान संग्रहालयमा पाइन्छ । राजाको श्रीपेचमा कल्की चराको प्वाँख प्रयोग हुन्थ्यो । संग्रहालयमा दुईवटा कल्की चराको नमुना राखिएको छ । नमुनासँगै श्रीपेचको चित्र पनि टाँसिएको छ ।
संग्रहालयलाई विभिन्न समयमा हस्तान्तरण गरिएका हरिण, सिङहरू पनि सुरक्षित राखिएको छ । अजिंगर, घडियाल गोही, गोही संंग्रहालय (अवशेष) प्रवेश गर्नेबित्तिकै देख्न सकिन्छ । तत्कालीन युवराज दीपेन्द्रले सिकार गरेको गिद्धलाई संग्रहालयमा सजाएर राखिएको छ ।
फरक जीव र स्थान ८ वटा कोठा र एउटा ठूलो प्रदर्शनी हलमा ५० हजारभन्दा बढी नमुना राखिएका छन् । अन्तरक्रिया कोठामा च्याउ, वन्यजन्तु, पुतली र चरा जडीबुटी पहिचान बोर्ड राखिएका छन् । ‘अर्थोपोडा’ कक्षमा विभिन्न जिल्ला र संरक्षित क्षेत्रबाट संकलन गरिएको कीरा तथा खपटेकीरा संगृहीत छन् ।
हर्बेरियम तथा इथ्नोबोटनी कक्ष, थारू जातिले प्रयोग गर्ने सरसमानका तस्बिर, लेउ र झयाउ कोठामा विभिन्न ठाउँबाट संकलित ब्रायोफाइट, पुतलीहरू, चराचुरुंगी, सर्प, गोही, कछुवा, अजिंगर, सुन गोहोरो, उभयचर तथा सरिसृप जीवजन्तुको चार्ट संग्रहालयमा देख्न सकिन्छ । जीवाशेष (फोसिल्स) हरूका लागि छुट्टै कोठा छुटयाइएको छ ।
आदिमानवको बंगरा
एक करोड १० लाख वर्षअघिको आदिमावन रामापिथेकसको अवशेष प्राकृतिक विज्ञान संग्रहालयको एउटा महत्त्वपूर्ण संग्रह हो । अमेरिकाका डाक्टर वेस्टले संकलन गरेको आदिमानवको यो बंगारा संग्रहालयमा सुरक्षित छ ।
३० लाखदेखि १० लाख वर्षअघिसम्म पूर्वी नेपालको सिवालिक पहाडको रातो खोला क्षेत्रमा पाइने ‘आकिडिस्कोडन’ हात्तीको तल्लो बंगरा र खप्पर संग्रहालयमा देख्न सकिन्छ । प्रि–हिस्टोरिक जनावार तथा त्यसबेलाको इकोलोजी अध्ययन गर्न चाहनेका लागि संग्रहालय एउटा गतिलो पाठशाला बन्न सक्छ ।
एक वर्षअघि तराईका महिलाहरूको कपाल काटिएको घटनाले धेरै चर्चा भएको थियो । धेरैले अन्धविश्वास माने । पछि ‘कीराले कपाल काट्ने’ गरेको पत्ता लाग्यो । प्राकृतिक विज्ञान संग्रहालयमा कपाल काट्ने कीरालाई पनि राखिएको छ ।
‘लार्जेस्ट बेलेस्टोमा जेइन्ट बग’ (कीरा) ले कपाल काटेको म्युजियमकी वैज्ञानिक डाक्टर निर्मला प्रधानले बताइन् । उक्त कीराको ‘मेन्डिबल’ अति कडा हुने भएकाले मेन्डिबलका कारणले चुल्ठो काटिएको उनले जानकारी दिइन् ।
गाउँघरमा देखिने कीराफटयांग्रा, पुतलीहरूको नाम र प्रजातिबारे सबैलाई थाहा नहुन सक्छ । विश्वको सबैभन्दा ठूलो ‘मिसाचर’ पुतली संग्रहालयमा उडुलाभैंm गरेको देख्न सकिन्छ । यहाँ चार हजारभन्दा बढी कीरा, १४ हजारभन्दा बढी पुतली र पतङ्गका नमुना देख्न सकिन्छ ।
दुर्लभ मानिने सेतो कागको नमुना संग्रहालयमा राखिएको छ । प्रकृतिले दिएको भन्दा अलिक फरक शरीर लिएर जन्मिएका जीवहरू प्राकृतिक विज्ञान संग्रहालयको अर्को आकर्षण हो । एउटा टाउको र दुईवटा जीउ भएको सुँगुर, दुईवटा टाउको भएको सर्प, चार खुट्टा भएको कुखुराको चल्ला, बाख्राको ८ खुट्टे पाठी अवशेष पनि संग्रहालयमा छ । यहाँ राखिएका हात्ती, गैंडा र २० फिट ४ इन्च लामो अजिंगरको काँचुलीमा आफ्नै विशेषता छन् ।
संग्रहालय इतिहास
तत्कालीन आनन्दकुटी साइन्स कलेज सन् १९७४ मा बन्द भयो । त्यसपछि स्वयम्भूस्थित यही थलोमा त्रिभुवन विश्वविद्यालयको विज्ञान अध्ययन संस्थानअन्तर्गत रहने गरी प्राकृतिक विज्ञान संग्रहालय स्थापना गर्ने निर्णय भयो । २०३२ साल साउन २ गतेबाट प्राकृतिक विज्ञान संग्रहालय विधिवत् रूपमा स्थापना भएको हो ।
त्यसबेला त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत जीवविद् कोलिन स्मिथ (पुतली बाजे) ले नेपालमा संकलन गरेका ४ हजारभन्दा बढी पुतलीका नमुना संग्रहालयलाई हस्तान्तरण गरेका थिए । राजपरिवार, सैन्य कर्मचारी, सर्वसाधारणसहित निकुञ्जहरूले संग्रहालयलाई जीवजन्तुको नमुना प्रदान गरे । संग्रहालय आफैंले देशका कुनाकप्चा पुगेर नमुना संकलन गरेको छ । घरमै राखिएका जीवजन्तुको अवशेष पनि हस्तान्तरण गर्न सकिने संग्रहालयले जनाएको छ ।
संग्रहालयले लोप भएका जीवको नमुनासमेत संकलन गर्दै संगृहीत गरेको छ । जडीबुटीका हर्बेरियम नमुना, धेरैथरीका झयाउ तथा च्याउ, यार्सागुम्बा र बोटबिरुवाबाट बनाइएका सरसामान संग्रहालयमा राखिएको छ ।
यहाँ २२ हजार ५३ कीराफटयांग्रा नमुना, ६ वटा अविकसित मेरुदण्डीय जीवजन्तु, ८ सय ९० माछा, १ सय ७ उभयचर, ३ सय ९० सरिसृप, ११ सय ९४ वटा चराचुरुंगी, २ सय २५ स्तनधारी, २२ वटा अस्थिपञ्जर, १ सय २४ लेउ, २३ सय २० वटा ढुसी र च्याउ, ११ सय २४ उभयचर बिरुवा, ५ सय ७ वटा उन्यरु, १ सय २३ वटा कोणधारी बिरुवा, ५ हजार ३४ वटा बीउधारी बिरुवा, ९ सय ६४ वटा जीवाशेष, ७४ वटा चट्टान र खनिज पदार्थको नमुना संकलित छ ।्
संग्रहालयका वैज्ञानिकले प्रकृतिसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्दै आएका छन् । स्वदेशी तथा विदेशी संघसंस्थासँग मिलेर वन, कृषि, सिमसार क्षेत्रका बोटबिरुवा, कीटपतंग, सरिसृप, स्तनधारी प्राणीका बारे अध्ययन–अनुसन्धान गरी नमुना संकलन गरिन्छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा छुट्टै अनुसन्धान व्यवस्थापन एकाइ स्थापना गरिएको छ । संग्रहालयले जर्नल अफ नेचर हिस्ट्री म्युजियम प्रकाशन गर्दै आएको छ ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को वन्यजन्तुमा प्रामाणिक निकाय भनेर संग्रहालयलाई दिइएको छ । संग्रहालयमा वार्षिक १५ हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको ट्याक्सिडर्मिस्ट देवेन्द्र महर्जनले बताए । म्युजियममा चरालाई प्राकृतिक पोजिसनमा राखिएको छ । वनस्पतिको वर्गीकरण र पहिचानसम्बन्धी जानकारीका लागि वातावरण उद्यान निर्माण गरिएको छ ।