नेपालमा सीख धर्म : अठाह्रौँ–बीसौँ शताब्दीमा

श्रोतः http://annapurnapost.com/news/113596

डा. महेशराज पन्त
०८ मङि्सर २०७५

इतिहास नेपालमा यक्ष मल्ल (वि.सं. १४६५–१५३८, राज्यकाल वि.सं. १४८५–१५३८)को राज्य चलिरहँदा सुदूर पश्चिममा पञ्जाबमा लाहुरभन्दा १२ कोस जति दक्षिण–पश्चिममा रहेको तलवण्डी भन्ने गाउँमा वि.सं. १५२६ मा सीख धर्मका प्रवर्तक नानकको जन्म पञ्जाबी खत्रीकुलमा भएको हो। रामानन्द, कबीर र चैतन्यजस्तै नानकको पनि आविर्भाव सन्तपरम्परामै भएको हो। उनको मुख्य ध्येय धार्मिक मतमतान्तरको कलह हटाउनु थियो। यसैले आफ्ना शब्दद्वारा ईश्वर एउटा मात्र भएको प्रतिपादन उनले गरेका छन्।

देवताको द्वारमा हजारौँ मुहम्मद, हजारौँ ब्रह्मा, हजारौँ विष्णु, हजारौँ शिव र हजारौँ हजार राम बसेका छन्; यी सबै आध्यात्मिक ईश्वरमाथि एउटा ईश्वर छन्, सृष्टि गर्ने तिनको नाउँ सत्य हो भनी उनको एउटा भजनमा लेखिएको कुरालाई यसको उदाहरणको रूपमा देखाउन सकिन्छ। उनले आफ्नो मतको प्रचारको लागि आफ्ना शब्द (स्थानीय बोलीमा सबद)द्वारा अनेकानेक भजन रचे तथा ‘संगत’ भन्ने नाउँमा संघट्टित रूपमा शिष्यसमूह खडा गरे। यसरी उनले प्रचलित मतहरूभन्दा अलि पर गएर एउटा पन्थ अर्थात् सम्प्रदायको प्रारम्भ गरे। अत्यन्त गाढा गुरुशिष्यपरम्परामा अडेको यस पन्थको नाउँ ‘नानकमत’ वा ‘गुरुमत’ भनी कहलिन थाल्यो र कालान्तरमा ‘सीख धर्म’ भन्ने नाउँले यो बढी प्रसिद्ध भयो। ‘सीख’ यो शब्द संस्कृतको ‘शिष्य’ शब्दबाट आएको हो भनी भनिरहनु नपर्ला।

नानकले आफ्ना उत्तराधिकारीमा अङ्गद (वि.सं. १५६१–१६०८)लाई छानेकाले वि.सं. १५९६ मा नानक परलोक भएपछि उनी गुरुपदमा आसीन भए। अङ्गदका उत्तराधिकारी अमरदास (वि.सं. १५३६–१६३१) भए। उनका उत्तराधिकारीचाहिँ उनका जुवाइँ रामदास (वि.सं. १५९१–१६३८) भए। यी सबैले नानककै छाँटले आफ्नो पन्थलाई अगाडि बढाउँदै गए। वि.सं. १६२० मा जन्मेका, पाँचौँ गुरु अर्जुनको पालामा मुगलशासनसँग यस पन्थको टक्कर पर्‍यो। अनि मुगल बादशाह जहाँगीर (वि.सं. १६२६–१६८४, राज्यकाल वि.स. १६६२–१६८४)को हुकूमले गर्दा गुरु अर्जुनले वि.सं. १६६३ मा ज्यान गुमाउनुपर्‍यो। अनि अर्जुनका छोरा हरगोविन्द (वि.सं. १६५२–१७०१) ११ वर्षको उमेरमा यस पन्थको छैटौँ गुरु भए। यसपछि यस पन्थमा राजनीतिको रङ्ग क्रमशः चढ्दै गयो र यसले राजकीय र सांग्रामिक स्वरूप लिँदै गयो। अनि यो पन्थ दबाउन मुगलशासन झन् झन् उग्र हुँदै जाँदा गुरु हरगोविन्द केही वर्ष थुनामा राखिए।

पछि वि.सं. १६६९ मा उनलाई बादशाह जहाँगीरले छोडिदिए। यसले गर्दा जहाँगीरको पालासम्म त मुगलशासनसँग हरगोविन्दको राम्रै सम्बन्ध भयो। जहाँगीरपछि उनका छोरा शाहजहाँ (वि.सं. १६४८–१७२२, राज्यकाल वि.सं. १६८४–१७१५) मुगल गद्दीमा बसेपछि फेरि मुगल र सीखको सम्बन्ध बिग्रन थाल्यो र २ पक्षमा लडाइँको सिलसिला नै चल्यो। वि.सं. १७०१ मा गुरु हरगोविन्दको देहान्त भएपछि उनका नाति हरिराय (वि.सं. १६८७–१७१८), त्यसपछि हरिरायका ५ वर्षका छोरा हरिकृष्ण (वि.सं. १७१३–१७२१) क्रमशः सातौँ र आठौँ गुरु भई झण्डै २० वर्षसम्म यो पन्थ हाँकियो। ५ वर्षसम्म सीखपन्थका गुरु भई हरिकृष्ण परलोक भएपछि उनका पितामहका भाइ अर्थात् छैटौँ गुरु हरगोविन्दका कान्छा छोरा तेघबहादुर (वि.सं. १६७८–१७३२) वि.सं. १७२१ मा नवौँ गुरु भए। मुगलशासनसँग संघर्ष बढ्दै जाँदा वि.सं. १७३२ मा बादशाह औरङ्गजेब (वि.सं. १६७५–१७६३, राज्यकाल वि.सं. १७१५–१७६३)ले गुरु तेघबहादुरलाई फाँसी दिएपछि उनका छोरा गोविन्दसिंह (वि.सं. १७२३–१७६५) दशौँ गुरु भए। वि.सं. १७५५ मा उनले खालसा नाउँ दिई सीखहरूको ठूलो संघट्टन बनाए।

‘खालसा’ अर्थात् ‘शुद्ध’ भन्ने नाउँ राखिएको यस संघट्टनको उद्देश्य राजनीतिसम्बन्धी र सांग्रामिक उद्देश्यसँग आध्यात्मिक उद्देश्यको संयोजन गर्नु थियो। मुगल शासकका भाडावाल हत्याराले वि.सं. १७६५ मा गुरु गोविन्दसिंहलाई छुरा घोपेर मारेपछि यस पन्थको सजीव गुरुपरम्परा टुङ्गियो। आफ्ना छोरालाई उत्तराधिकारी नबनाएर योग्य शिष्यलाई आफ्नो गद्दीमा नानकले छाने पनि पछि त्यस पन्थमा १०० वर्षभन्दा बढी समय वंशवाद चल्न गयो। गुरु गोविन्दसिंहपछि उनले नै बाँधेर गएको व्यवस्थाअनुसार उनीहरूको धर्मग्रन्थलाई ‘गुरुग्रन्थसाहिब’ भन्ने नाउँमा गुरु मान्ने चलन चल्यो र त्यो परम्परा अहिलेसम्म चल्दैछ। यसैले नानकमठ वा गुरुद्वारमा गुरुग्रन्थसाहिबलाई अत्यन्त आदरपूर्वक राखिन्छ र ग्रन्थको सेवाटहल अत्यन्त श्रद्धापूर्वक गरिन्छ।

आफ्नो पन्थको प्रचार गर्न भारतवर्षका धेरै भागमा र अन्त अन्त पनि गुरु नानक आफैँ पुगेको इतिहास पाइन्छ। यसै क्रममा उनी नेपाल आउँदा ज्ञानेश्वर महादेवस्थानमा उनले आफ्नो मठको स्थापना गरे भन्ने अनु श्रुति छ (जगदीशचन्द्र रेग्मी, ‘काठमाडौंका केही नानक मठ’, ‘नेपालीज् कल्चर्’ ७–८ ठेली, ई.सं. १९८९, २४ पृ.)। त्यसलाई प्रमाणद्वारा पुष्ट गर्न भने सकिँदैन।

सीख पन्थलाई मोटामोटी रूपमा दुइ भागमा बाँड्न सकिन्छ— १.) नानकको मतअनुसार चल्दै आएको पन्थ र २.) नानकका जेठा छोरा श्रीचन्दले खडा गरेको पन्थ। अघिल्लो पन्थको मठलाई ‘नानकमठ’ र पछिल्लो पन्थकोलाई चाहिँ ‘उदासी अखडा’ भन्ने चलन छ। ऐतिहासिक प्रमाणको आधारमा काठमाडौँमा चारवटा नानकमठ- १.) ज्ञानेश्वरको २.) पशुपति भस्मेश्वरको ३.) नयाँबजारबाट बालाजु जाने बाटोमा विष्णुमतीको पुलनजीकैको ४.) शोभाभगवतीस्थानपछाडिको- र दुइवटा उदासी मठ- १.) कालमोचनकोे २.) पशुपति राजराजेश्वरीघाटको- देखिएको छ। यसो भए पनि उदासी अखडामा नानकपन्थी महन्त (राष्ट्रिय अभिलेखालयमा रहेको माइक्रोफिल्मको रील नं. के ३४४/५०, के ३६२/२३), नानकमठमा उदासी महन्त (के १५४/५६, के १६९/५२, के १६९/६६, के १८१/८२, के ३४४/४२, के ३४४/४६, के ३४४/५१, के ३४४/६१, के ३४४/६३, के ६५१/७१, के ३६२/७०, के ३६३/५६, के ३६९/१४) र उदासी अखडामा र नानकमठमा एउटै महन्त (के ६६४/३९, के ६६४/४०) भएको उदाहरण हामीकहाँ नपाइने होइन।

राजा जयजगत् मल्लले धोबीखोलाको संगतको लागि मनीराम नानकलाई पूर्वपट्टि वैद्यको बिर्ताखेत र नानकको गूठीको खेत, दक्षिणपट्टि गोचर र डङ्गोलको बिर्ता, पश्चिमपट्टि ज्ञानेश्वर देवालयको चोक, उत्तरपट्टि गोचर यति चार किल्लाभित्रको पानीखेत र पाखो ताम्रपत्र गरी दिएको कुरा वि.सं. १८९८ मार्गशुक्लपञ्चमी शनिवारको, श्री ५ राजेन्द्र

(वि.सं. १८७०–१९३८, राज्यकाल वि.सं. १८७३–१९०४)को रुक्कामा छ (के ३२७/४४)। यस रुक्कामा समस्तपदमा पदविपर्यय भई ‘जयजगत् मल्ल’ लेखिए पनि ती काठमाडौँ राज्यका उपान्त्य राजा जगज्जय मल्ल (वि.सं. ? –१७९२, राज्यकाल वि.सं. १७७९–१७९२) हुन् भनी निर्धक्क भन्न सकिन्छ। वि.सं. १७९२ मै बितिसकेका जगज्जय मल्लले ज्ञानेश्वर महादेवमन्दिरवरपर संगतको लागि खेत दिएको कुरा यस रुक्काबाट बुझिएकोले र ज्ञानेश्वरमा अहिलेसम्म पनि नानकमठ रहिआएकोले यस विषयमा खुलाएर लेख्नुपरेको छ।

‘संगत’ शब्दले सीख सम्प्रदायमा संघट्टित रूपमा शिष्यसमूह बुझाउने भए पनि शिष्यसमुदाय खाने बस्ने ठाउँको अर्थमा पछि गएर ‘संगत’ शब्द रूढ हुन गएको कुरा अभिलेखहरूको आधारमा भन्न सकिन्छ। त्यस्ता ‘संगत’मा शिष्यसमुदाय बस्ने खाने मात्र नभई गाई पाल्ने जस्ता काम पनि हुन्थ्यो (उदाहरणको लागि, के ३६३/५६)। प्राचीन परम्पराअनुसार ‘मठ’ भनेको ‘विद्यार्थी आदि बसोबास गर्ने घर’ (उदाहरणको लागि, ‘मठश्छात्रादिनिलयः’, ‘अमरकोष’ २।२।८) भए पनि सीख सम्प्रदायमा मन्दिरलाई ‘मठ’ र बसोबास गर्ने ठाउँलाई ‘संगत’ भन्ने चलन भएको देखिन्छ। यस कुराको पुष्टि काठमाडौँ राज्यका अन्तिम राजा जयप्रकाश मल्ल (वि.सं. ? –१८२६, राज्यकाल वि.सं. १७९२–१८२५)को ने.सं. ८७७ तदनुसार वि.सं. १८१३ मार्गकृष्णअष्टमीको ताम्रपत्र (महेशराज पन्त, ‘जयप्रकाश मल्लले नानकपन्थीलाई बिर्ता दिई गरिदिएको, अर्को एउटा ताम्रपत्र’, ‘पूर्णिमा’ ९८ पूर्णाङ्क, २०५६, ४६–४७ पृ.)बाट र श्री ५ रणबहादुर शाह (वि.सं. १८३२–१८६३, राज्यकाल वि.सं. १८३४–१८५५)को, वि.सं. १८४३ आषाढकृष्णसप्तमी बुधवारको रुक्का (के ३२७/४३)बाट पनि हुन्छ। जगज्जय मल्लले ज्ञानेश्वरको संगतलाई खेत दिनुभन्दा अगाडि नै नानकको मठको गूठी रहिसकेकोले ज्ञानेश्वरको नानकमठको अस्तित्व कमसेकम अठाह्रौँ शताब्दीमा देखिन गएको छ। ज्ञानेश्वरमा ‘मठ’सँगै ‘संगत’ भएको कुरा वि.सं. १८९८ मार्गशुक्लपञ्चमी शनिवारको रुक्का (के३२७/४४)बाट बुझिन्छ। त्यसै गरी, विष्णुमतीको नानकमठमा पनि ‘संगत’ पनि भएको कुरा अभिलेखहरूबाट थाहा भएको छ (के ३६२/१४, के ३६२/७०, के ३६३/१४, के ३६३/५४, के ३६३/५६, के ४१०/१४, के ६५१/७१)।

जयप्रकाश मल्लको, ने.सं. ८७७ तदनुसार वि.सं. १८१३ मार्गकृष्णअष्टमीको ताम्रपत्रमा चराम भन्ने ठाउँमा बस्ने नानकपन्थीलाई त्यही ठाउँको १२ रोपनी खेत आफूले लिई त्यसको सट्टाभर्नामा दिइएको खेत बिर्ताको रूपमा बक्सीस दिइएको कुरा लेखिएको छ (‘पूर्णिमा’ ९८ पूर्णाङ्क, ४६–४७ पृ.)। यस ताम्रपत्रमा बिर्ता पाउनेको नाउँ लेख्दा ‘नानकमग्निरामनाम्ने प्रसादीकृतं’ अर्थात् ‘नानकपन्थी मग्निराम नाउँ भएकालाई निगाह गरियो’ भनी लेखिएको छ। त्यहाँ ‘मग्निराम’को ‘ग्निराम’ लेख्नुभन्दा अगाडिका अक्षरको डोब देखिन्छ र ताम्रपत्र त्यहाँनिर पिटिएको पनि छ।

श्री ५ रणबहादुर शाहको, वि.सं. १८४३ आषाढकृष्णसप्तमी बुधवारको रुक्कामा मगनीराम नानकसाहीलाई सम्बोधन गरी ‘आपु बस्याका संगतको उत्तरपट्टी षेत रोपनी यक् १ पोषरी यक् १ बारी कमललाई श्रीनानकको पुजानीमीत्य बक्स्यौं’ भनी लेखिएको छ (के ३२७/४३)। वि.सं. १८५९ माघकृष्णअष्टमी शनिवारको पत्रमा महन्त मगनीरामदास नानकलाई श्री ५ गीर्वाणयुद्ध (वि.सं. १८५४–१८७३, राज्यकाल वि.सं. १८५५–१८७३)ले फकीरानाको लागि देउपाटनको अम्बलमा खेत दिएको कुरा आएको छ (के ३२७/४५)। वि.सं. १९६५ वैशाख २१ गतेको पत्रमा ‘लीषीतम् ग्यानेश्वरमठ् बश्ने महन्त नारान्दास नानक. आगे ग्यानेश्वर श्री ५ सर्कारका गुठीको ९४ साल् कार्तीक १२ गते रोजमा येस अडामा दाषील् गर्‍येको आम्दानीषर्चको लगत्मा श्री ५ सर्कारका गुठीको १८४३ साल् आषाडवदी ७ रोजको मगनीराम नानकका नाउको लाल्मोहर १ र १८९८ साल् आषाडवदी ७ रोज ४ को मगनीराम नानकका नाउमा भयाका लालमोहरको नकल् १ ज्मा लाल्मोहरको नकल् कोट्टा २ स्मेत् मुचुल्काको पुछारमा गासीदीयाको हुनाले र नीज मगनीराम नानक र सुन्राम नानक तीम्रो को हो’ (के ३२७/४९) भनी लेखिएको छ। यस कारण वि.सं. १८१३ को ताम्रपत्रअनुसार बिर्ता पाउने नानकपन्थी मग्निराम, वि.सं. १८४३ को रुक्काका मगनीराम नानकसाही, वि.सं. १८५९ को पत्रका मगनीरामदास नानक एकै ठहर्छन्। जगज्जय मल्लबाट बिर्ता पाएका भनी वि.सं. १८९८ को रुक्कामा नाउँ आएका नानकपन्थीको नाउँमा चाहिँ ‘ग’ अक्षर छुटी ‘मनीराम’ हुन गएको देखिन्छ।

वि.सं. १८४३ देखि १८५९ सम्म १६ वर्ष महन्तको हैसियतले देखिएका मगनीरामलाई वि.सं. १७९२ मा बितेका जगज्जय मल्लबाट र उनका छोरा जयप्रकाश मल्लको वि.सं. १८१३ को ताम्रपत्रबाट बिर्ता पाएको देखाइँदा मगनीरामले कमसेकम ६७ वर्ष महन्त्याइँ चलाएको देखिन गएको छ। यस कारण जयप्रकाश मल्लको त्यस ताम्रपत्रमा अन्त्यमा ‘राम’ भएको मानिसको मूल नाउँ मेटी ‘मग्नि’ लेखिएकोले त्यस ताम्रपत्रमा पछि ‘मगनीराम’को पक्षमा जालसाजी भएको ठहर्छ।

श्री ५ गीर्वाणयुद्धको, वि.सं. १८५६ कार्तिकशुक्लएकादशी शुक्रवारको लालमोहरमा ‘अघि नेपाल्या राजाले आनन्द वैद्यको धोबिषोलाको षेत रोपनि ७ हरिकन तम्रा गुरुलाइ तावापत्र गरि बिर्ता दियाको रहेछ’ भनी लेखिएको छ (के ३६२/२१)। जयप्रकाश मल्लले १२ रोपनी खेत बिर्ता दिएको ताम्रपत्र पाइएकोले ७ रोपनी खेत दिने यी ‘नेपाल्या राजा’ जगज्जय मल्ल हुन् कि जस्तो लाग्छ। ‘नेपाल्या राजा’ले आनन्द वैद्यको खेत हरेर नानकमठलाई दिएको ७ रोपनी खेत पछि वि.सं. १८५६ मा त्यस खेतका पुरानै हकवालालाई फिर्ता दिई त्यसको सट्टा त्यतैतिरको त्यति परिमाणको खेत दिएको कुरा त्यही लालमोहरमा लेखिएको छ।

नयाँबजारबाट बालाजु जाने बाटाेमा विष्णुमतीकाे पुल नजिकैै नानक मठ ।

जयप्रकाश मल्लको, ने.सं. ८७७ तदनुसार वि.सं. १८१३ मार्गशुक्लअष्टमीको अर्को ताम्रपत्रमा गोलदेशग्रामभूमिमा अर्थात् देउपाटनमा भस्मेश्वर महादेवको स्थानमा बस्ने एक जना नानकपन्थीलाई चरान भन्ने ठाउँको २० रोपनी खेत बिर्ताको रूपमा बक्सीस दिइएको कुरा लेखिएको छ (पार्थमणि भट्टराई, ‘केही अप्रकाशित अभिलेख’, ‘धर्मदर्शन’ १–२ पूरक अङ्क, २०४२, ७०–७१ पृ.; महेशराज पन्त, ‘जयप्रकाश मल्लले नानकपन्थीलाई बिर्ता दिई गरिदिएको, अहिलेसम्म प्रकाशमा नआएको ताम्रपत्र’, ‘पूर्णिमा’ ९५ पूर्णाङ्क, २०५५, ४५–४६ पृ.)।

यस ताम्रपत्रमा बिर्ता पाउनेको नाउँ लेख्दा ‘नानकपंथिमयारामनाम्ने प्रसादीकृतं’ अर्थात् ‘नानकपन्थी मयाराम नाउँ भएकालाई निगाह गरियो’ भनी लेखिएको छ। तर यस ताम्रपत्रमा ‘पंथि मयाराम’ लेख्नुभन्दा अगाडिका अक्षरको डोब देखिएकोले पहिलेबाट कुँदिएका अक्षरमाथि अघिल्लो ताम्रपत्रमा जस्तै यसमा पनि नयाँ अक्षर कुँदिएको ठहर्छ। अझ, ‘मयाराम’को ‘राम’ र ‘नाम्ने’को बीचमा ठाउँ छोड्नु नपर्नेमा केही ठाउँ खाली छोडिएकोले पहिले कुँदिएका अक्षरको जम्मै ठाउँ पछि कुँदिएका अक्षरले नओगटेकाले केही ठाउँ खाली हुन गएको छ। यसैले कसैले लोभवश जग्गाधनीको नाउँ बदलेको हुनुपर्छ। ‘मयारामजु मओतले हरिसेवक परिसातया मयाराम ओस्यंरि मयारामया खुसि’ अर्थात् ‘मयारामज्यू नआउञ्जेल हरिसेवक परिसातको, मयाराम आएपछि मयारामको खुशी’ भन्ने अर्थ भएको वाक्य ‘प्रसादीकृतं’ अर्थात् ‘निगाह गरियो’ भन्ने लेखिसकेपछि त्यस हरफमा काकपद दिई ताम्रपत्रको किनारामा थपिएकोले पनि यस ताम्रपत्रमा पनि करतूत भएको देखिन आएको छ।

वि.सं. १९६३ फाल्गुन २२ गते मङ्गलवारको एउटा पत्रमा ‘मेरा ज्यूज्यूबाज्ये मायराम नानकलाई देउपाटंका अम्बल्मध्य माहाचलान्को षेत रोपनी २० नेपाली राजा जयेप्रकासले बीर्ता तावापत्र गरीबक्सेको’ (के ३४४/४६), वि.सं. १९६४ वैशाख २१ गते आदित्यवारको एउटा पत्रमा ‘अघी नेपाली राजाको पालामा मेरा जीज्यूबाज्ये मायाराम नानकलाइ देउपाटन्का अम्बलमध्ये माहाचलान् षेत रोपनी २० को बीर्ता तावापत्र गरीबक्सेको’ (के ३४४/५१), वि.सं. १९६४ पौष १९ गते शुक्रवारको, भगवद्दास उदासीको बिन्तीपत्रमा ‘अघि नेपालि राजाका पालामा मेरा जिज्यूंबाजे मायराम् नानक्लाई देउपाटनका अंम्बल् माहाचलान्को षेत् रोपनि २० राजा जयेप्रकास्ले बिर्ता तावापत्र गरिबक्स्याको’

(के ३४४/६१) र तिनै उदासी भगवद्दासको त्यही साल माघ १२ गते बुधवारको अर्को पत्रमा ‘नेपाली राजाका पालामा मेरा ज्युज्युबाज्या मायारां नानषालाई देउपाटंका अम्बल्मध्ये महाचलां षेत् रोपनी २० राजा जयेप्रकासले बीर्ता तावापत्र गरीबक्स्याको’ (के ३४४/४३) भनी लेखिएकोले र जयप्रकाश मल्लले ताम्रपत्र गरी वि.सं. १८१३ मा भस्मेश्वरका नानकपन्थीलाई चरानको २० रोपनी खेत बिर्ता दिएको प्रमाण पाइएकोले यी पत्रले त्यसैतर्फ औँल्याएकोमा शङ्का छैन। जयप्रकाश मल्लले त्यही मितिमा गरिदिएको अर्को ताम्रपत्रमा आएको ‘चराम’ र यस ताम्रपत्रमा आएको ‘चरान’ उही ठाउँ हो, खालि नाउँ लेख्दा रूपभेद मात्र भएको हो भन्ने देखिन्छ। यस ठाउँलाई पछिल्ला अभिलेखमा ‘माहाचलान्’ भनिएको र यसलाई ‘देउपाटनका अंम्बल्’भित्रको भनिएकोले पशुपतिवरपर नै त्यो खेत रहेछ भन्ने बुझिन गएको छ। यस कारण भस्मेश्वरको मठलाई दिइएको खेत र ज्ञानेश्वरको मठलाई दिइएको खेत दुवै देउपाटनकै अम्बलका देखिन्छन्। वि.सं. १९३४ भाद्रशुक्लद्वितीया आदित्यवारको, श्री ५ सुरेन्द्र (वि.सं. १८८६–१९३८, राज्यकाल वि.सं. १९०४–१९३८)को लालमोहरबाट त्यस ठाउँमा चलनेश्वर नाउँको शिवलिङ्ग रहेछ भन्ने पनि थाहा हुन्छ (के ३६२/२३)।

जयप्रकाश मल्लको, माथि चर्चा गरिएको अघिल्लो ताम्रपत्रमा खेतको चारकिल्ला खुलाउँदा पश्चिमपट्टिको साँधमा ‘संगतबारिभूम्याः’ आएको छ। संस्कृत ‘वाट’को अपभ्रष्ट रूप ‘बारि’ इत्यादिले ‘घर र त्यसको सेरोफेरो’ बुझाउने भएकोले (उदाहरणको लागि, सुकुमार सेन, ‘यान् एटिमोलज्इक्ल् डिक्शनरि अफ बेन्गलीः सर्का १०००–१८०० ए.डी.’ १ ठेली, ईस्टर्न पब्लिशर्ज, कलकत्ता, ई.सं. १९७१ मा ‘बाडी’ हेर्नू) त्यहाँ ‘संगत’को लागि अघिबाटै घर बनिसकेको देखिन्छ। त्यही ताम्रपत्रमा पूर्वपट्टिको साँधमा सरूपदास भन्नेको खेतको चर्चा आएकोले र पछिल्लो ताम्रपत्रमा पनि खेतको चारकिल्ला खुलाउँदा पश्चिमपट्टिको साँधमा नयनदास भन्नेको खेतको चर्चा आएकोले सीखहरूका नाउँको पुछारमा दास शब्द पनि आउने हुनाले ती बिर्ताको वरपर संगत र सीखहरूको खेत भएको देखिन्छ।

जयप्रकाश मल्लले भस्मेश्वरको नानकमठको लागि दिएको त्यो २० रोपनी खेत वि.सं. १८३३ मा श्री ५ प्रतापसिंह शाह (वि.सं. १८०६–१८३४, राज्यकाल वि.सं. १८३१–१८३४)को पालामा थामिएको कुरा वि.सं. १९६४ पौष ११ गते शुक्रवारको पत्रबाट थाहा हुन्छ (के ३४४/५०)। यो खेत फेरि वि.सं. १८४६ आषाढकृष्णपञ्चमी बिहीवारको दिन श्री ५ रणबहादुर शाहको पालामा थामिएको थियो। पछि फेरि वि.सं. १९३४ भाद्रशुक्लद्वितीया आदित्यवारको दिन श्री ५ सुरेन्द्रको पालामा थामियो (के ३६२/२३)।

छोरा गीर्वाणयुद्ध बिरामी हुँदा श्री ५ रणबहादुर शाहले रोगनिवारण गर्नानिमित्त अरदास गर्दा परमगुरु गुरुपादुकासमेतको संगत बनाउन भनी बाणेश्वरतिर १४ रोपनी पाखो खेत र साढे १३ रोपनी पानी लाग्ने खेत चढाएका थिए। त्यसको लागि वसन्तदासनाउँका नानकपन्थीको नाउँमा वि.सं. १८५७ पौषशुक्लपञ्चमी सोमवारको दिन श्री ५ गीर्वाणयुद्धको नाउँमा गरिदिएको लालमोहरमा ‘आफ्ना स्वधर्मसंग श्रीगुरुपादुका स्थापित गरि पुजा गरि हामिलाई आशीर्वाद दिन्या गर. शेष रह्याको अनुभोग्य गरि षातिर्जामासित तपस्या गर. हाम्रो हाम्रा संतानको श्रीपरमगुरुका चरणमा अर्दास गर’ भनी लेखिएको छ (‘नेपालीज् कल्चर्’ ७–८ ठेली, २५–२६ पृ.)।

भस्मेश्वरकाे नानक मठ

यस लालमोहरमा ‘काठमाडौका अम्बलमा ... श्रीपरमगुरु श्रीगुरुपादुकासमेतको संगत बनाउन’ भनी गूठी राख्न खेत दिइएकोले र यस लालमोहरको फोटोकपी शोभाभगवतीस्थानपछाडिको नानकमठका महन्तसँग भएकोले होला, यो संगत त्यहीँको हो भन्ने ठहर जगदीशचन्द्र रेग्मी (वि.सं. २००१ मा जन्म)को छ (उही, २४–२५ पृ.)।

‘चरणमा भंmुडिआउन्याहरूकन नानकनामा योगिहरूकन टुकुचांगणका समीपमा उपजा जगामा वास दीकन वृत्ता घर षेत दिया. अद्यापि बस्ती भया. षेतिपाति वृत्ता जागिर घर षेत बक्सिकन सुखसंग बसाल्दा भया’ भनी तात्कालिक कवि सुन्दरानन्द बाँडाले आफ्नो कृति ‘त्रिरत्नसौन्दर्यगाथा’ (धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘पण्डित सुन्दरानन्दविरचित त्रिरत्न–सौन्दर्य–गाथा’, नेपाल–सांस्कृतिक–परिषद्, काठमाडौँ, २०१९, १८७ पृ.)मा लेखेकाले वि.सं. १८५७ मा काठमाडौँबाट भागी काशी पुगेका स्वामी महाराज रणबहादुर शाह वि.सं. १८६० मा यहाँ फर्किँदा उनीसँग नानकपन्थीहरू आई यहाँ बसोबास गरेको बुझिन्छ। ‘नानकपन्थी योगीहरूलाई ‘टुकुचांगण’मा बास दिइएको बताइएको छ र कालमोचनमा रहेको मठलाई नै यो सन्दर्भले संकेत गरे जस्तो हामीलाई लाग्दछ’ भनी जगदीशचन्द्र रेग्मीले अनुमान गरेका छन् (‘नेपालीज् कल्चर्’, ७–८ ठेली, २५ पृ.)। छोरा बिरामी हुँदा उनको रोगनिवारणको निमित्त संगत खडा गर्न भनी रोपनीका रोपनी खेत दिने रणबहादुर शाहले पछि आपूm काशीबाट फर्कँदा नानकपन्थीहरूलाई यहाँ ल्याई घरखेत दिई बसोबास गराएकाले नानकपन्थमा उनको विशेष श्रद्धा भएको देखिन्छ।

विशाखदत्तको नामी संस्कृतनाटक ‘मुद्राराक्षस’को भवानीदत्त पाँडे (वि.सं. १८५८–? )ले भीमसेन थापा (वि.सं. १८३२–१८९६, शासनकाल वि.सं. १८६३–१८९४)को पालामा नेपाली भाषामा गरेको उल्थामा परेको दोषको परीक्षा गर्दा नयराज पन्त (वि.सं. १९७०–२०५९)ले लेखेको एउटा कुराको पनि यहाँनिर चर्चा गर्नुपरेको छ। कुरा के भने, ‘मुद्राराक्षस’को ‘बहुविधदेशवेषभाषाचारसंचारवेदिनो नानाव्यञ्जनाः प्रणिधयः’ अर्थात् ‘देशदेशका भेष बोली आचारसंचार जान्ने, अनेक तरहका रूपधारी जासूसहरू’ भन्ने वाक्यांशको उल्था गर्दा भवानीदत्त पाँडेले ‘नानाव्यञ्जनाः’ अर्थात् ‘अनेक तरहका रूपधारी’को व्याख्या ‘जोगी संन्यासी फकिर नानक इत्यादि’ भनी गरेकोमा ‘भारतमा मुसलमानहरूले विजय गरिसकेपछि तथा भारतमा मुसलमानी धर्म धेरै फैलिसकेपछि विक्रमको सोह्रौँ शताब्दीका नानकले सीख सम्प्रदाय चलाएका हुन्।

गुरुका नामले त्यस सम्प्रदायका अनुयायीहरू पनि नानक कहलाउन लागेका हुन्। यस कारण विक्रमपूर्व तेस्रो शताब्दीको कुरा लेख्ता नानक सम्प्रदायका जोगी थिए भनी लेख्नु सर्वथा अशुद्ध हो’ (भोलानाथ पौडेल र धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘गल्लीमा फ्याँकिएका कसिंगर’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१८ मा ‘उपोद्घात’, १४३ पृ.) भनी नयराज पन्तले लेखेको ठीक ठहर्छ। भीमसेन थापाको पालामा यो उल्था गर्न बसेका भवानीदत्त पाँडेले यहाँ त्यसताका नानकपन्थीहरूको रमझम देखेकाले नै नयराज पन्तले लेखे जस्तै राजनीतिशास्त्रको पठनपाठन छुटेको र इतिहासको अध्ययन यहाँ नभएको कुरा यसबाट स्पष्ट हुन्छ।

नेपालमा सीख धर्मको विषयमा जे जति अभिलेख पाइन्छन्, ती अठाह्रौँ शताब्दीदेखिका मात्र भएकाले र त्यसमा पनि सीख धर्ममा सजीव गुरुपरम्परा टुङ्गिन टुङ्गिन लागेपछिका वा टुङ्गेपछिका मात्र भएकाले सीख धर्मसँग नेपालको सम्बन्धको सन्दर्भ बाहिरिया वाङ्मयमा पाइन्छ कि पाइँदैन, यस विषयमा खोजी गर्नु आवश्यक छ।

बाहिरबाट यहाँ भित्रिएका अरू धर्म किंवा सम्प्रदायको जस्तो सीख धर्मको प्रचार काठमाडौँ राज्यमा बाहेक भक्तपुर र ललितपुर राज्यमा समेत नभए पनि मधेसमा चाहिँ भएको कुरा अभिलेखहरूबाट थाहा हुन्छ (उदाहरणको लागि सप्तरीको भेडियाको मठको लागि के ३२/१७ बी हेर्नू )।

( श्रीगुरुनानकसेवाप्रतिष्ठानशोधकेन्द्र नेपालका अध्यक्ष सरदार जसपाल सिंह र रोशनी श्रेष्ठसँग मिली यस लेखका कर्ताले गरिरहेको शोधकार्यको आधारमा।)