श्रोतः https://www.onlinekhabar.com/2019/05/764094
ऋग्वेद शर्मा
२०७६ वैशाख २४ गते
२४ वैशाख, दोलखा । ललितपुर पाटनमा रातो मच्छिन्द्रनाथको रथारोहण भइसकेको छ । हिन्दु र बौद्ध धर्मावलम्बी मात्रै होइन जात्रामा रम्ने हजारौं आस्थावान रातो मच्छिन्द्रनाथको उत्सवमा छन् । बुधबारबाट सुरु हुने रथ जात्रापछि त देशभरको ध्यान पाटनमा हुनेछ ।
तर कमैलाई थाहा छ, गएको हप्ता रातो मच्छिन्द्रनाथकै जात्रा पाटनबाट झण्डै १३० किलोमिटर पर दोलखाको भिमेश्वरमा नौ दिनसम्म चलेर सकियो । दोलखामा कहिलेदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भयो भन्ने अनुसन्धानकै विषय हो । तर, पाँच सय वर्षअघिसम्म जात्रा मनाइएका आधारहरु भने भेटिन्छन् ।
दोलखालीहरु पनि वर्षा र सहकालको देवता, करुणामय र अवलोकितेश्वरका रुपमा रातो मच्छिन्द्रनाथको आराधना गर्छन् । जसलाई उनीहरु बुग्देउका रुपमा सम्बोधन गर्छन् । यसको अर्थ ‘बोकेर लगिने’ भन्ने हुन्छ ।
पाटनमा देखिने भन्दा फरक भीमेश्वरको रातो मच्छिन्द्रनाथ जात्रामा ठाडो उकालोमा रथ तानिने भएकाले पनि रथको वनावट र शैली नै भिन्न छ । झण्डै ३० फिट अग्लो रथको पाङ्गा खण्डखण्ड परेको छ । जसलाई स्थानीय भाषामा गरक्चा भनिन्छ । गरक्चाको बनोटले रथलाई उकालोमा लैजान पनि केही सजिलो बनाउँछ ।
भीमेश्वर मन्दिर
सयौं वर्षअघि यस्तो उकालो गाउँमा किन रातो मच्छिन्द्रनाथको जात्रा मनाइयो त ? एउटा किला पनि नठोकी यति अग्लो रथ त्यस्तो उकालोमा तान्न कसरी सम्भव भइरहेको छ ? यस्ता प्रश्नको जवाफ त्यहाँको अवस्थिति र धार्मिक सामाजिक पक्षसँग जोडिन्छ ।
आफ्नो घरअगाडि रथ आएपछि स्थानीयहरु पूजा गर्छन्, रथ तान्न सहभागी हुन्छन् । जुन टोलमा रथ लगिन्छ, त्यही टोलका बासिन्दाले तोकिएको ठाउँसम्म रथ पुर्याउने जिम्मेवारी हुन्छ । यसरी रथ बनाउँदादेखि जुटेका स्थानीय जात्रा नसकिँदासम्म सँगसँगै रहन्छन् ।
हरेक वर्ष मनाइने रथजात्रा ०४१ सालतिरबाट झण्डै १४ वर्ष आर्थिक अभावले रोकियो । ०५५ सालमा स्थानीय कालिन्चोक युवा क्लबको सक्रियतामा सहयोग संकलन गरेपछि पुनः जात्राले निरन्तरता पाएको छ ।
मच्छिन्द्रनाथ जात्राको धार्मिक पक्ष भीमेश्वरमा पनि पाटनको भन्दा भिन्न छैन । सामाजिक पक्षमा भने अरु आयामहरु पनि देखिएका छन् ।
कला, भाषा र सम्पदाको धनी भीमेश्वरमा जात्रा मात्र देखिएन, भूकम्पपछिको उठान देखियो । मानवीय सम्बन्ध देखियो । धार्मिक आस्था देखियो । सम्पदाको कला देखियो । आर्थिक उपार्जन भयो ।
भीमेश्वर टोल र पृष्ठभूमिमा चरिकोट बजार ।
अनि उपत्यकामा जस्तै भीमेश्वरमा पनि सम्पदा पुनर्निर्माणका कमजोरी देखियो । ढलानले छोपिएको ऐतिहासिक पोखरी देखियो । पोखरीमाथि ठड्याइएको क्रंक्रिट भवन देखियो । पुरातात्विक मन्दिरमा छापिएका सिमेन्ट देखियो ।
भीमेश्वरमा पहिले माटो, ढुँगा र काठ प्रयोग गरिएका चार तले घरहरु थिए । केही वर्षअघिसम्म राजा पृथ्विसिंह देवले बनाएको देगल थियो । राजदरबार थियो ।
अहिले दोलखा बसपार्क रहेको ठाउँबाट ओरालो झरेपछि ढुङ्गा छापिएको पुरानो बाटो छ । तल पिङ्गल टोलसम्म नै घरहरु त्यस्तै छन् । कोही भूकम्पपछिकै टहरामा बसेर घर बनाइरहेका छन् । कोही नयाँ घरमा सरिसकेका छन् । घरहरुको भग्नावशेषबाट उठेर स्थानीयहरु सिमेन्ट, इँटाका घरमा फर्किसक्दा पनि हराएका देगल र राजदरबारको खोजी भने छैन । राजदरबारको मूर्तिहरु भने संरक्षणमा नै छन् ।
पहिलो शताब्दीदेखि एकीकरण अघिसम्म छुट्टै राज्य रहेको दोलखा भीमेश्वरमा जात्रा, पर्व, सांस्कृतिक रीतिरिवाजसँगै सम्पदाहरुको विकास भएको देखिन्छ । भीमेश्वरमा झण्डै आधा घण्टाको पैदलमा महत्वपूर्ण ऐतिहासिक सम्पदा पर्छन् । जहाँ चारनारायण छ । अजिमाहरु छन् । त्रिपुरासुन्दरी, बालकुमारी, हरिसिद्धि, बज्रयोगिनी, नारायण मन्दिर, तलेजु, पशुपति, भीमेश्वर, गणेश, श्यामसुन्दरसहित बुद्ध गुम्बा र चैत्यका अनुपम कला देखिन्छन् ।
चैत्य
भीमेश्वरमा कुनै समय दुङ्गल र पिङ्गल गरेर बाहिरी र भित्री बजार थियो । विस्तारै बस्ती बढ्दै जाँदा बजार बढ्दै गयो । अहिले भने चरिकोट बजारको विस्तारले भीमेश्वर सुनसान छ ।
रथ तानिने ड्वाकुलुङा टोलदेखि पिङ्गल टोलसम्म पहिले चलेको बजार रहेको स्थानीय ७५ वर्षका चन्द्रदास जोशी सम्झन्छन् । अहिले भने रथ जात्राबाहेकको समयमा गाउँ नै सुनसान हुने उनले सुनाए ।
भीमेश्वर पहिले त व्यापारिक केन्द्र नै हो । दक्षिण भारत र चीनसँग समेतको व्यापारिक केन्द्र भएकाले पनि नेवारी बस्तीको बाहुल्य भएको देखिन्छ । इतिहासले भन्छ, मल्लकालमा सम्पन्न राज्य हो दोलखा । खेतियोग्य जमिन र व्यापारले फस्टाएको दोलखामा पछिसम्म बाहिरी आवतजावत पनि धेरै नै थियो ।
भनिन्छ, महेन्द्र मल्लले भन्दा २९ वर्ष अगाडि नै राजा इन्द्रसेन देवले दोलखा भीमेश्वरमा रहेको टक्सारबाट नै मोहर निकालिसकेका थिए । जुन टक्सार घर अहिलेसम्म छँदैछ । भूकम्पपछि जिर्ण बनेकाले ऐतिहासिक टक्सार घर पुनर्निर्माण र संरक्षणको पर्खाइमा छ ।
टक्सार घर ।
स्वीस सरकारको सहयोगमा तलेजु मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, भीमेश्वर भण्डारको पुनर्निर्माण चलिरहँदा पुरानो टक्सार घर भने पुनर्निर्माणका लागि स्थानीय पर्खिरहेको छ । बिग्रिएका अरु सम्पदामा पुरातत्व विभागमार्फत काम भइरहँदा व्यक्तिको नाममा रहेकाले टक्सार घरको पुनर्निर्माण हुन नसकेको वडाध्यक्ष विराजमान श्रेष्ठ बताउँछन् ।
स्थानीयले रातो मच्छिन्द्रनाथ जात्रामा स्थानीयस्तरमा पाइने काठ, वेत र डोरीले उकालोमा तान्न सकिने, नढल्ने, नभाँचिने रथ निर्माण गरेर कालिगरीको उत्कृष्ट नमूना देखाइरहेको भए पनि त्यही शैली घर र मन्दिर निर्माणमा प्रयोग गर्न सकेका छैनन् । हेर्न जानेहरु जिल्लिन्छन्, काठैकाठको चुकुलमा यत्रो रथ कसरी नढलाई तानिन्छ !
‘यहाँ बस्नेहरु अलि कम आयस्रोत भएका मान्छे छन् । कि सरकार ताक्ने कि विदेशी दाता ताक्ने बानी परिसकेको छ । हामी आफैंले सम्पदाको पुनर्निर्माण गर्न सक्ने स्थिति नै छैन’ इतिहासको विद्यार्थी तथा स्थानीय शिक्षक तीर्थनारायण जोशीले सुनाए ।
सम्पदा जोगाउनु पर्छ भनेर बुझेको भए पनि आफूहरुले त्यसमा काम गर्न नसकेको उनको भनाइ छ ।
हुन त रातो मच्छिन्द्रनाथकै निर्माणमा पनि स्थानीयले आधुनिक अभ्यास घुसाइसकेका छन् । पाङ्गामा फलामले जेल्नेदेखि रङ्गीचङ्गी प्लाष्टिक ध्वजा हाल्न थालिएको छ । जसलाई देख्दा पुर्खाको सिपले उनीहरुलाई खिस्याउँछ ।
रथ भित्र रहेको मूर्तिआशन समेत बिग्रिसकेको पुजारी नरेन्द्र तुलाधर बताउँछन् । ‘रथ भित्रको सामानहरु टुक्राटुक्रा भएका छन् । तारले बाँधिएर राखिएको छ । बाहिर देखिने कुरामा सबैको आँखा जान्छ तर, भित्र त आँखा कसैको पनि जाँदैन’ उनले दुःखेसो गरे ।
सम्पदा जानकार एवं अभियन्ता आलोक सिद्धि तुलाधार दोलखामा मात्रै नभएर हाम्रो धार्मिक अभ्यास पछाडि लुकेको ज्ञानमा धेरैको ध्यान नभएको सुनाउँछन् ।
काठमाडौंदेखि रातो मच्छिन्द्रनाथ रथ जात्रा हेर्न दोलखा पुगेका उनी भन्छन्, ‘रथ बनाउँदा १२/१५ जातिहरुको मेलमिलाप चाहिन्छ । उनीहरुले आआफ्नो जिम्मेवारी निभाइरहेका हुन्छन् । काठमा बाँध्ने बेत मिलाउने, कसैले काठ मिलाउने, कसैले फूल राख्ने, कसैले सिंगार्ने काम गरिरहेका हुन्छन् । त्यसले सामूहिक अभ्यास सिकाउँछ ।
रथ साँघुरो बाटोमा तान्नुपर्ने, अग्लो भएकाले ढल्किने हुन्छ । काठलाई एउटामा अर्को जेलेर बनाइन्छ । त्यसमा चुकुल पनि काठकै प्रयोग हुन्छ । त्यसैले लचकदार भएको हुन्छ । हल्लिए पनि त्यो ढल्दैन । हामीलाई रथले दिएको सन्देश घर बनाउँदा पनि त्यस्तै शैली अपनाउन सकिन्छ भन्ने हो । जसले गर्दा भूकम्पले पनि असर गर्दैन ।
पिङ्गल टोलमा चैत्यसँगै रथ ।
हरेक पटक भूकम्प आउँदा के गरेर घर बनायो भने भूकम्पप्रतिरोधी हुन्छ भन्ने ज्ञान विस्तार गर्न पनि रथ निर्माणले परापूर्वकालदेखि हामीलाई सिकाइरहेको तुलाधरले बताए । उनी भन्छन्, ‘त्यही ज्ञानलाई देउतासँग जोड्यो भने मानिसले छिटो सिक्छ भन्ने कुराले हामीलाई जात्रा, पर्व, धर्ममार्फत सिकाइएको हो ।’
खोतल्दै जाने हो भने धेरै कुरा थाहा हुन्छ । रथमा राख्ने ‘लस्वा’ भनिने वनस्पती औषधीको रुपमा समेत प्रयोग हुन्छ । अहिले भने लस्वाको ठाउँमा धुपि राख्ने गरिएको देखिन्छ । त्यसले हाम्रा पर्वसँग जोडिएका व्यावहारिक ज्ञानहरु बुझाउँछन् ।
सम्पदाको बस्ती भीमेश्वरमा जात्रा र पर्वको रमाइलोमा हराइरहेका युवा पुस्ता पनि त्यसको महत्व र व्यावहारिक पक्षतिर भने उतिसाह्रो ध्यान दिँदैनन् । जात्रा बाहेकका समयमा बुढाबुढीले मात्रै धानेको भीमेश्वरमा उपत्यकाबाट गएका श्रद्धालुले नै जात्रा सम्भव बनाइरहेका छन् ।
भक्तपुर ठिमीबाट हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राको बेला भीमेश्वर पुग्ने गरेका ७३ वर्षका जगबहादुर कोजु उकालोमा रथ तानेको दंग परेर हेरिरहेका थिए । पहिले त उकालोमा रथ तान्छ भनेर विश्वास नलागेकैले हेर्न गएका उनी अहिले भने रथसँगै भीमेश्वरका सम्पदाहरु पनि नियाल्छन् ।
ठिमीकै ४० वर्षका कान्छा कोजु त उपत्यकाबाटै आएका मान्छेले भीमेश्वरको महत्व टिकाइरहेका बताउँछन् । ‘पाटनका मान्छे यहाँ आएर उताको जस्तै रथ जात्रा गर्न थालेका हुन्, त्यसैले बर्षेनी यहाँ उपत्यकाकाबाट मानिसहरु आउँछन्’ उनले भने ।
भीमेश्वर नगरपालिका–२ का भगवान दास श्रेष्ठ भने कोजुको भनाइलाई मान्दैनन् । ‘बीचमा १४ वर्ष रोकिएर ०५६ सालबाट पुनः सुरु भएपछि मात्रै बाहिरबाट यत्तिका मान्छे आउन थालेका हुन् । यहाँ मल्लकाल भन्दा अगाडिबाट नै रथ तान्न थालिएको हो भनेर रथमा नै रहेको ताम्रपत्रमा समेत देख्न सकिन्छ’ उनले भने ।
स्थानीयहरु पनि अहिले उपत्यकाकाबाट मानिसहरु नजाने हो भने रथ तान्न कठीन हुने भने स्वीकार्छन् । ‘जात्रा सकिएपछि यहाँ एक हजार जना पनि भेट्न मुस्किल छ । बुढाबुढी घर कुरुवा मात्रै हुन्छन्’ स्थानीय ७५ वर्षका चन्द्रदास जोशीले सुनाए ।
भीमेश्वर माथिल्लो टोलको चैत्य
दोलखाली इतिहासबारे अध्ययन गरेका तीर्थनारायण जोशी पनि रातो मच्छिन्द्रनाथ जात्राको इतिहास उपत्यकासँग जोडिएको नभई दोलखाकै छुट्टै इतिहास रहेको बताउँछन् ।
‘बिस १६३८ सालमा पाटनका मान्छे आएर मच्छिन्द्रनाथमा परेवा चढाएको हो भन्ने प्रमाण देखिन्छ । त्यसपछि १७३८ सालमा राजा महेन्द्र सिंह देवले जात्रा चलाउन गुठी तोकिदिएको देखिन्छ । १८६० मा गिर्वाणयुद्धले गुठी यसरी चलाउनु भनेर बनाइदिएको ताम्रपत्र पनि भेटिन्छ, त्यसैले यसको आफ्नै इतिहास छ’ उनले भने ।
२०३० साल ताका इतिहास अन्वेषक धनब्रज बज्राचार्य र टेकबहादुर श्रेष्ठ दोलखाबारे अध्ययन गर्न पुगेका थिए । उनीहरुकै सक्रियताले दोलखालीलाई पनि पुरातत्व र इतिहासका बारेमा अध्ययन आवश्यक छ भन्ने ज्ञान मिलेको थियो । तर सम्पदा अध्ययनको काम प्रमाणिक रुपमा अझै हुन सकेको छैन ।
रातो मच्छिन्द्रनाथको रथयात्रा हुने ड्वाकुलुङादेखि पिङ्गल टोल, नक्छे टोल, कोर्छेटोल, टसिचा टोल, बौद्ध टोल हुँदै दुङ्गल टोलसम्म पुग्दा पनि हरेक टोलमा एक दुईवटा पुरातात्विक सम्पदाहरु देखिन्छन्, जसमा काष्ठकला, शिल्पकला र मूर्तिकलाको नमूनाहरु राम्रा छन् । त्यसले पनि सम्पदामा भीमेश्वर कति सम्पन्न छ भन्ने थाहा हुन्छ ।
समयक्रमसँगै सम्पदाहरु कमजोर हुँदै गएको तीर्थनारायण सुनाउँछन् । ‘मल्लकालसम्म जोगिएका पुराना धरोहर शाह कालमा र राणा कालमा धेरै नै बिग्रिएका हुन् । पृथ्वीनारायण शाहले एकीकरण गरेर बहादुर शाहलाई दोलखा हेर्ने जिम्मा दिँदासम्म पनि यहाँका ऐतिहासिक धरोहरहरु बिग्रिएका थिएनन् । त्यसको केही समयपछि ठूलो आगलागी भएर संरचनाहर बिग्रिएको भनिन्छ’ उनले सुनाए ।
रानीपोखरी
उनको भनाइअनुसार जोगाउन नसकिएको अहिले मात्रै होइन भन्ने बुझिए पनि भूकम्पपछि पुनर्निर्माणको जुन अवसर आएको थियो त्यसको पनि सदुपयोग भने भएको छैन ।
उदाहरणका लागि पशुपतिको पुरातात्विक महत्वको मन्दिरमा प्रयोग गरिएको सिमेन्ट र रानीपोखरीमा गरिएको ढलानले नै पुष्टि गर्छ । स्थानीय तीर्थनारायण नै भन्छन्, रानीपोखरी पहिले ठूलो थियो । देगल भएको ठाउँमा भत्काएर स्कूल बनाइएको थियो, त्यही स्कूल बिस्तार गर्दा अहिले रानीपोखरी पनि चेपियो ।
राजा इन्द्रसेन देव भन्दा अगाडि नै पोखरीको निर्माण भएको दोलखाको ऐतिहासिक रुपरेखामा उल्लेख भएको पाइन्छ । यति पुरानो पोखरीको महत्व पनि भीमेश्वरबासीले किन बुझेनन् त ?
रानीपोखरीको पुनर्निर्माण पुरातत्व विभागले गरेको हो । जहाँ अहिले पानी झिकिएको स्वीमिङ पुल जस्तो मात्र देखिन्छ । ‘पोखरीमा पहिले तल इँटा बिछाइएको थियो । जसले गर्दा पानी आइरहेको हुन्थ्यो । तर अहिले ढलान गरेको भएर पानी आएको छैन । त्यो पानी कता पस्यो भन्ने पनि थाहा छैन’ तीर्थनारायणले भने ।
राजहिटी
नजिकै रहेको राजहिटी देखाउँदै उनी भन्छन्, हामीले बुझ्नुपर्ने गरी यिनीहरुको महत्व नबुझेकै हो । अहिलेसम्म त केही बुझेकै छैनौँ, बुझ्नुपर्ने कुरा अझ धेरै बाँकी छ ।