मन्दिरले बोल्छ राजदरबारको राजनीतिक प्रवृत्ति

श्रोतः https://www.onlinekhabar.com/2019/06/770762

ऋग्वेद शर्मा
२०७६ जेठ २१ गते


२१ जेठ, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा देखिने सम्पदाहरु पहिले जस्तो छैनन् । भूकम्पका कारण मात्रै होइन, फेरिएका सम्पदाको पछाडि अरु पनि कारण छन् । केही स्वरुपमा फेरिएका छन्, केही नाममा फेरिएका छन्, केही त आस्थामा नै फेरिएका छन् ।

आकारमा मात्रै याद हुने सम्पदापछिका कथाहरु, ययार्थहरु खोज्ने हो भने त्यसमा फेरिएका स्वरुप, नाम र आस्थाबारे थाहा हुन्छ । कुन राजाले के नाम दिए ? त्यो नाम कसरी फेरियो ? किन त्यसको स्वरुप उही रहेन भन्ने जान्न सम्पदाको बाहिरी पाटोले मात्रै बोलिदिँदैन । त्यसका लागि भित्री कथा खोतल्नै पर्ने हुन्छ ।

बसन्तपुर दरबार क्षेत्रमा ०७२ सालको विनाशकारी भूकम्पपछि सुधारिएको गद्दी बैठकको छेवै भएर अहिले अगाडि बढ्दा देखिने कुमारी घर टेकोकै भरमा अड्याइएको छ ।

कुमारी घरको बाहिर रहेका द्वारपालका मूर्तिमा सम्पदा रंग्याउने झिल्के सोचको परिणामले आगन्तुकलाई खिस्याइरहे जस्तो लाग्छ । इनामेलले रंग्याइएको मूर्ति देखेर दिक्क भएका एक स्थानीय वृद्ध त्यस्तो सोचपछिका मानिसलाई गाली गरिरहेका थिए ।

‘पहिले कस्तो थियो, अहिले कस्तो भयो, यो यसरी रंग्याउनुपर्ने मूर्ति हो ? गर्न खोजेको के हो ? रंग लगाएर राम्रो हुने हो ?’ उनले दुःखेसो पोखिरहँदा जम्मा भएको भिडको आँखा त्यही मूर्तितिरै थियो । जसमा उनले भनेजस्तै इनामेलको विरुपता झल्किन्थ्यो ।


कुमारी घर अगाडिका सिंह मूर्ति

हुन पनि १८१३ सालमा जयप्रकाश मल्लले कुमारी चोक बनाउँदा त्यसअघिका प्रस्तरका सिंहका दुई मूर्तिमा इनामेल लगाएर राम्रो देखाउने कसरी सोचेका थिए होला र ? झण्डै चार हात अग्लो प्रस्तरको टुक्रा जोडिएका मूर्ति इनामेलभित्र छोपिएर विरुप देखिएको, त्यसमा इनामेल लगाउनेले किन देखेनन् अचम्म नै छ ।

कुमारी घरभन्दा अघि देखिने नारायण मन्दिर, माजुदेवल र विष्णुमन्दिरको अवशेष मात्रै छन् ।


भगवती मन्दिरको अग्रभाग

त्यहाँ पुनर्निर्माणका लागि बार बारेर काम भइरहेको छ । भूकम्पपछि पुनर्निर्माणको काम कसरी भइरहेको छ भन्ने त्यसको बाहिर घेरिएको बारबाट नै थाहा हुन्छ । सामान्य मान्छेको आँखाले पनि देख्न मिल्ने गरी काम भएको छैन । पुनर्निर्माणमा चासो हुनेहरु छोपिएर गरिएको काममा शंका गर्छन् । यस विषयमा धेरै चर्चा भइरहेकै छ । अहिले भने टेकोमा अडिएको शिव पार्वती मन्दिरको कुरा गरौं ।

कुनै समय बिहानदेखि बेलुकासम्म नारायण, माजुदेवल र विष्णु मन्दिरका पेटीमा मानिसहरु आराम गरिरहेका देखिन्थे । अहिले त्यो सबै भार शिव पार्वती मन्दिरले थेगिरहेको छ ।

भूकम्पपछि जिर्ण बनेको मन्दिरमा लामो समयसम्म पेटीमा बस्न खुला जस्तो नै थियो । अहिले टेकोमा अडिएको मन्दिरको पहिलो तहको पेटीमा नै बार बारिएको छ । तर पनि बारभित्र बेलुकीपख मानिसहरुको चहलपहल चलिरहेकै हुन्छ ।

बसन्तपुर क्षेत्रमा लामो समय काम गरेकी सम्पदा जानकार एलिना ताम्राकार टेकोमा अडिएको मन्दिरको तल मानिसहरुको यतिका चहलपहल हुनु डरलाग्दो रहेको सुनाउँछिन् । सयौं मान्छेको चहलपहल भइरहे पनि यो मन्दिरको केही फेरिएका अवस्थाबारे भने कमैलाई थाहा छ ।

नेपाली वास्तुकलाको शैलीमा बनेको यो मन्दिर दुई तहको पेटीमाथि छ । पहिलो तहको पेटी फराकिलो रहेकाले डबली जस्तो नै लाग्छ । त्यसैले बेलाबखत यही डबलीमा सानो समूहमा हुने कार्यक्रम चलाउने या काँक्रा र पानी बेच्नेहरुलाई सजिलो भएको देखिन्छ ।

https://www.onlinekhabar.com/wp-content/uploads/2019/06/Shilalekh-Basantapur.jpg">
शिव पार्वती मन्दिर पेटीको शिलालेख

पहिलो तहको पेटीको दायाँतर्फ बाटोमा ध्यान दिएर हेर्ने हो भने एउटा सानो शिलालेख देख्न सकिन्छ ।

इतिहास अन्वेषक गौतमबज्र बज्राचार्यले ‘हनुमानढोका राजदरबार’ पुस्तकमा उक्त शिलालेख राजा लक्ष्मीनरसिंहले वि.सं. १६९८ मा लेख्न लगाएको उल्लेख गरेका छन् । जसलाई उपत्यकामा नेपाली भाषामा लेखिएको सबैभन्दा पहिलो अभिलेखका रुपमा समेत चिनिन्छ ।

अभिलेख हेर्दा रणबहादुर शाहको शासनकालमा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले शिव पार्वती मन्दिर बनाउन लगाउनु अघि त्यहाँ कुनै डबली रहेको अनुमान लगाउन सकिन्छ ।

यो त पेटीको तल्लो भागमा रहेको शिलालेख जसलाई सामान्य भ्रमणमा देखिँदैन । तर शिव पार्वती मन्दिरमा सामान्य रुपमा नै देखिने केही कुरा छन्, जो देखिएभन्दा भिन्न छन् ।


शिव पार्वतीको मूर्ति

दक्षिणतिर फर्किएको दुई तले शिव पार्वती मन्दिरको दोस्रो तलाको झ्यालमा बाहिर हेरिरहेका शिव पार्वतीको मूर्ति देखिन्छ । त्यही मूर्तिकै कारण मन्दिरको नाम राखिएको जानकार बताउँछन् । मन्दिर अगाडि द्वारपालको रुपमा दुई ठूला सिंहको मूर्ति देखिन्छ । छानामा तीनवटा सुनौला गजुर छन्, जसमा पुष्पबल्लरी र छत्रसमेत छन् ।

एलिना ताम्राकार सुनाउँछिन्, ‘अझै केही स्थानीयहरु यसलाई नवयोगिनी मन्दिरका रुपमा चिन्छन् ।’ किनकी मन्दिरको पहिलो तलामा नवयोगिनीको मूर्ति छ ।

भन्ने गरिन्छ, कुनै समय राजाहरु युद्धमा जानुअघि यही मन्दिरमा देवीको प्रार्थना गर्ने गर्दथे । जसको पुष्टि झ्यालको तल रहेका सिपाहीको आकृतिले पनि गर्छ । त्यहाँ हतियार लिएर उभिएका सिपाही देख्न सकिन्छ । हतियार त्यही समयको छ ।

झ्यालमा पाइने बुट्टाहरु पनि त्यही समयतिरका अरु मन्दिरमा भन्दा भिन्न देखिन्छ । मन्दिरको माथिल्लो भागमा टुँडालको ठाउँमा सालमी परेका आँखीझ्याल देखिन्छ । जसलाई विधिझ्यालको रुपमा चिनिने गौतमबज्रले उल्लेख गरेका छन् । त्यहीमध्ये बीचको झ्यालमा रहेको शिव पार्वतीको मूर्ति नै यसको अर्को नदेखिने कथा हो ।

बसन्तपुरमा आउने आगन्तुकहरु नियाल्न झ्यालमा आएजस्ता देखिने मूर्ति श्रीखण्डको काठले बनेको छ । त्यसको तल तोरणमा रहेका मूर्तिहरु केही भने हराइसकेका छन् ।


तोरण चोरी भएको प्रवेशद्वार

शिव पार्वतीको मूर्ति अगाडिबाट हेर्दा ‘थ्री डी’ जस्तो देखिए पनि पछाडिबाट भने ‘फ्ल्याट’ छ । मूर्तिमा लगाइएको रंगले भने त्यसको स्वरुप श्रीखण्ड काठको हो भन्ने तथ्य छोपिदिएको छ ।

एलिना भन्छिन्, ‘मूर्तिमा रंग लगाउनु नराम्रो होइन । पहिले पनि काठका मूर्तिमा रंग लगाउने चलन थियो । तर त्यसको पनि शैली र के रंग भन्नेमा विचार भने गर्नैपर्छ । पहिले प्राकृतिक तेलहरु लगाइन्थ्यो भने अहिले इनामेलको प्रयोग हुन थालिसकेको देखिन्छ ।’

पेटीमा रहेको अभिलेख र शिव पार्वतीको मूर्तिसँगै यसमा देखिने अर्को नौलो कुरा आँखीझ्याल हुन् । काठको जस्तो देखिने आँखीझ्याल वास्तवमा ढुँगाका हुन् । ढुँगामा कसरी बनाइयो भन्ने ताजुब लाग्छ, जसमा बुट्टाहरु पनि त्यो समयका अन्य मन्दिरमा भन्दा भिन्न छन् ।

शिव पार्वती मन्दिरको जस्तै कथा छ, भगवती मन्दिरको । सुरुमा नारायण मन्दिरको रुपमा चिनिने मन्दिर भगवतीमा परिवर्तन हुनुले नेपाली राजतन्त्रमा देखिने राजनीतिक प्रवृत्ति थाहा हुन्छ ।

पृथ्वीनारायण शाहले नुवाकोटदेखि भगवती ल्याएर स्थापना गरेपछि भगवती मन्दिरको रुपमा फेरिएको मन्दिर त्यसअघि नारायण मन्दिरको रुपमा रहेको थियो । धनबज्र आफ्नो किताबमा लेख्छन्, ‘वि.सं. १८१३ को अभिलेखमा राजा जगज्जय मल्लको पालामा बनेको मन्दिरमा उनका छोरा जयप्रकाश मल्लले सुनको छाना लगाएको भन्ने उल्लेख भएको देखिन्छ । जुन प्रताप मल्लका कान्छा छोरा महीपतिन्द्र मल्लको सम्झनामा बनाइएको हुनाले महीपतिन्द्र नारायणको रुपमा बनाइएको थियो ।

गौतमबज्र बज्राचार्यको ठ्यासफुको ऐतिहासिक ब्याख्या लेखका आधारमा हेर्दा यसको कथा यस्तो छ,

राजा प्रताप मल्लले आफ्नो मृत्युपछिलाई सोचेर पहिले नै कान्छा छोरा महीपतिन्द्रलाई राजगद्दीमा राख्ने योजना बनाइसकेका थिए । प्रतापका जेठा छोरा नृपेन्द्रको चाँडै मृत्यु भएको र माहिला पार्थिवेन्द्र विषकाण्डमा परेपछि पनि भक्तपुर र पाटनका राजाहरु सहमत नहुँदा कान्छा महीपतिन्द्र राजा हुन भने पाएनन् ।

पार्थिवेन्द्रका बालक छोरा भूपालेन्द्रलाई राजगद्दीमा राखेर प्रधानमन्त्री लक्ष्मीनारायण जोशीले हैकम गरिरहेका थिए । त्यसैले पार्थिवेन्द्रको विषकाण्डको दुई महिनापछि नै महीपतिन्द्रलाई पनि लक्ष्मीनारायणको योजनामा क्रुरतापूर्वक मारिएको थियो । उनको विधिपूर्वक दाहसंस्कार समेत गरिएन । वर्षौंपछि भास्कर मल्लले उनको संस्कार गरेको र त्यसपछि राजा भएका जगज्जय मल्लले मन्दिर बनाएको बताइन्छ ।


भगवती मन्दिरको झ्याल

रोचक कुरा के छ भने नारायणको मन्दिर भनिए पनि त्यसमा नारायणको मूर्ति भने कहिल्यै देखिएन । धनबज्र आफ्नो पुस्तकमा लेख्छन्- १८२३ सालको वैशाखमा चोरी भएपछि त्यहाँ मूर्ति नरहेको बताइन्छ । त्यसपछि नाममात्रैको नारायणको मन्दिरमा काठमाडौं विजय गरेपछि पृथ्वीनारायण शाहले नुवाकोटबाट ल्याएको भगवती स्थापना गराएका थिए । त्यसमा रहेको भगवतीको मूर्ति वैशाख कृष्ण चतुर्थीको दिन जात्रा गरी नुवाकोट लैजाने र वैशाख कृष्ण द्वादशीको दिन काठमाडौं फर्काउने चलन पृथ्वीनारायण शाहले चलाए ।

यी त भए इतिहासका कुरा । वर्तमानमा देखिने मन्दिरको आकर्षण भने इतिहासमा गरिएका ब्याख्याभन्दा सुन्दर छन् ।

गद्दी बैठकदेखि भैरव मन्दिरसम्म फैलिएको भगवती मन्दिर मल्लकालकै शैलीमा छ । जसको माथि गरुडमा विष्णुको मूर्ति देखिन्छ । तल आकर्षक विधिझ्याल छ । त्यसको तल पाटीमा इन्द्र जात्राका अवसरमा मन्दिरभित्र रहेका मूर्तिहरु प्रदर्शनसमेत गरिन्छ ।

यसैले यी मन्दिर र मूर्ति सम्पदा र इतिहाससँग मात्रै नभएर आस्थासँग पनि जोडिएका छन् । त्यसैले यिनको पुनर्निर्माण चलिरहेको यो समय फर्किएर पुराना दिनहरु विचार गर्नैपर्छ । जसले सम्पदाका अमूर्त पक्षहरुलाई जीवित राख्न सघाउँछ ।

पुनर्निर्माण गर्दा सबै तथ्यहरु जीवित राख्नु चुनौतीपूर्ण छ । बाहिरबाट नदेखिने यी सम्पदामा भित्री महत्व बुझ्ने हो भने सम्पदा पुनर्निर्माण हतारमा गर्ने काम होइन भन्ने प्रस्ट हुन्छ ।

‘हामीलाई सबै कुरा छिटो सकाउनुपर्ने भएकाले पनि पहिले र अहिलेका तरिकामा भिन्नता आएको छ । जस्तो कि, त्यो काठ नै पाउँदैन, त्यसको सट्टामा यो लगाउँ न त भन्ने गरिन्छ । सम्पदा पुनर्निर्माणमा पर्याप्त समय लगाउनै पर्छ । समय र अनुसन्धानबिना केही कुरामा पनि हतारो गर्नु हुँदैन,’ एलिना भन्छिन् ।

उनलाई लाग्छ, भूकम्पले त्रासदीसँगै सम्पदा पुनर्निर्माणको क्षेत्रमा एउटा अवसर पनि दिएको छ । जसलाई सदुपयोग गर्न सकियो भने भविष्यसम्म त्यसको महत्व लैजान सकिन्छ ।

काष्ठमण्डपकै इतिहास अनुमान गरिएभन्दा निकै पुरानो रहेको भेटिएबाट पनि त्यसको महत्व थाहा हुन्छ ।


ल्याकूबहीको चैत्य

बसन्तपुरमा देखिएभन्दा भिन्न रहेका शिव पार्वती मन्दिर र भगवती मन्दिरको जस्तै कथा अन्य सम्पदाहरुमा पनि छन् । ठूलो घण्टा, त्यसबाट सानो बाटो हुँदै भित्र पस्दा देखिने ल्याकूबही र त्यहाँको चैत्य, त्यसअघि बढ्दा देखिने कृष्ण मन्दिर, सरस्वती मन्दिर, कालभैरवलगायत ५० भन्दा बढी सम्पदाका आफ्नै लुकेका ययार्थहरु छन् ।