हाल–बेहाल सूर्यघाट
श्रोतः https://www.kantipurdaily.com/koseli/2018/09/15/15369811589169868.html, भाद्र ३०, २०७५दामोदर न्यौपाने
संस्कृति
शिवलिंग वरपर कन्तविजोग स्थिति नियाल्न सकिन्छ । लिंगकै छेउमा पीपल उम्रिएको छ, लिंगको टुप्पोमा कन्तकारी र धतुरोको दाना चढाइएको देखिन्छ । वरिपरि चराचुरुंगी बिस्टा छ । चढाइएका केही धजापतका यताउता असरल्ल छन् ।
काठमाडौँ — लिच्छविकालमा पशुपतिनाथमा भन्दा बढी रौनक सूर्यघाटमा थियो । लिच्छविहरू आफैं पनि सूर्यपूजक थिए । यो क्षेत्रमा ठाउँठाउँमा सूर्यदेवता स्थापना भएका थिए लिच्छविकालमै । पशुपति परिसर, मृगस्थलीलगायतका ठाउँमा यस्ता मूर्ति पाइएका थिए । संमभंगमुद्रामा बनेको यो मूर्ति पाँचौं शताब्दीमा बनेको पाइएको छ ।
जपशुपति मन्दिरको दक्षिणतिरको सानो बाटोबाट करिब सय मिटर उत्तर हिँडेर पुगिन्छ— सूर्यघाट । कैलाशडाँडाबाट ओर्लेर पनि आइन्छ यहाँ । कैलाशबाट ५० मिटर जति ओर्लेर बायाँ लागेपछि तीनवटा शिवलिंग देखिन्छन् । यहाँ बालगोपालेश्वर मन्दिर पनि छ । एउटा शिव मन्दिर छ । सबैभन्दा छेउमा रहेको शिवलिंंगमा अभिलेख कुदिएको देखिन्छ । शिवलिंगको जलहरीमा संस्कृत भाषामा लेखिएको छ । पहिलो पंक्ति केही मेटिएका छन्, अरू पढ्न सकिन्छ । इतिहासकार धनबज्र बज्राचार्यले संस्कृतलाई नेपालीमा अनुवाद गरेका छन् । यसलाई इतिहास संशोधनमण्डलले अभिलेख संग्रहमा प्रकाशितसमेत गरेको छ ।
शिलालेखमा लिच्छविकालीन चर्चित राजा मानदेवको बयान छ । पहिलो पंक्तिमा महेश्वरलाई नमस्कार लेखिएको छ । अभिलेखको दोस्रो पंक्तिमा भनिएको छ— सधैं (बुढेसकालमा पनि) सोझो (जीउ नकुप्रिएको) जीउ हुँदा अंगढंग मिलेका, यश बुद्धि पराक्रम ऐश्वर्य यी सबै थोक भएका, शत्रुहरूलाई नष्ट पारेका राजा मानदेव हुनुहुन्थ्यो । उहाँका दुनियाहरू उहाँमा रत्तिएका सुखी र सच्चरित्र छन् ।
तेस्रो पंक्तिमा मानदेव रानीको बयान गरिएको छ । उनलाई असल गुणरूपी रत्नका खानी भएकी, प्राणीमा दया गर्ने, विनयले युक्त भएकी, वीणाको आवाजजस्तै मधुर स्वर र राम्रो बोलीवचन भएकी ‘श्रीभोगिनी’ भनीकन प्रख्यात भएकी देवी (बडामहारानी) हुनुहुन्थ्यो भनेर लेखिएको छ । चौथो पंक्तिमा मानदेव र श्रीभोगिनीले छोरी विजयवतीलाई जन्म दिएको उल्लेख छ । ‘चन्द्रमाले शरदकालको सफा रातमा जूनलाई झैं तेजिली र आफू सुहाउँदा अनेक असल गुणहरू भएकी छोरी विजयवतीलाई जन्माउनुभयो’ लेखिएको छ ।
पाँचौंमा राजकुमारी किसिम–किसिमको कलामा सिपालु र प्रख्यात भएको उल्लेख छ । ‘महादेवजस्तै आफ्ना पति वात्र्त देवलाभमा उहाँको भक्ति छ । तथा उहाँलाई प्रसन्न पार्न उहाँ जान्नुहुन्छ’ लेखिएको छ । अन्तिम पंक्तिमा लेखिएको छ, ‘त्यसकारण ठूलो प्रसाद (मनको सफाइ) रूपी पानीले मनको कलंक पखाली, धर्म, कर्म गर्ने काममा मात्र चाख लिने भएकी उहाँले मोक्ष होस् भन्नका लागि राम्रो विजयश्वर लिंग यहाँ स्थापना गर्नुभयो ।’ अभिलेखमा संवत् ४२७ (विसं ५६३) उल्लेख छ ।
‘यो त इतिहास त हुँदै हो,’ सम्पदा अध्ययनरत केशव चौलागाइ भन्छन््, ‘त्यतिबेलाको साहित्य कस्तो रहेछ भनेर बुझ्ने जीवित प्रमाणसमेत हो यो । यस्ता जीवित इतिहासलाई यस्तो हविगत बनाउनुहुन्छ ?’
यसको ठीक पारिपट्टि घाटमा सूर्यको प्रतीक पनि स्थापना गरिएको छ । यसको स्थापना पनि विजयवतीकै पालामा भएको हो । सूर्यघाट छेउको वाग्मती सूर्यकुण्डको नामले प्रसिद्ध छ । कुण्डकै छेउमा चौतारो छ । चौतारो माथि छ सूर्यघाट ।
सूर्य पूजाका लागि प्रख्यात ठाउँ हो यो । चौलागाईका अनुसार खगोलीय हिसाबले पनि महत्त्वपूर्ण ठाउँ हो यो । शास्त्रअनुसार सूर्यको १२ नाम छन् । तपिनी, तापिनी, ध्रुमा, मरीचि, ज्वालिनी, रुची, सुध्रुमा, भोगदा, विश्वा, बोधिनी, धारिणी र क्षमाजस्ता तापलाई सूर्यकला भनिन्छ । यही कला आधारमा सूर्यको नामकरण गरिएका हुन् । सूर्यका विस्वान, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, बरुण, मित्र, शुक्र र उरुक्रमजस्ता नाम राखिएका छन् । मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनजस्ता १२ वटा राशि सूर्यको गतिअनुसारै राखिएका हुन् । हरेक महिनाको संक्रान्तिमा राशि फेरिन्छन् ।
पशुपतिनाथका भण्डारी केदारमान भण्डारीका अनुसार पशुपतिनाथ क्षेत्र ९ ग्रह संयोजन मिलेर बनेको छ । पशुपति क्षेत्र ९ ढोका, ९ डबली, ९ इनार, ९ धारा, ९ शक्तिपीठ, ९ चोक, ९ चउर र ९ जात, ९ टोल मिलेर बनेको छ पाशुपात क्षेत्र । यसलाई ९ गुणा ९ (८१) ग्रहको संयोजन भनिन्छ । नेपालको पहिलो वंश गोपाल वंशको राजधानी यही क्षेत्रलाई मानिएको छ । देवपाल राजाले शासन गरेको हुनाले यो ठाउँलाई देवपतनसमेत भनिन्छ । यस क्षेत्रको व्यवस्थापन गर्ने काम यही ९ जातले गर्दै आएका छन् । नेवारी भाषामा देवपाटलाई ‘ग्वल’ भनिन्छ । राजभण्डारीको अनुसार ग्वलको अर्थ ९ गुणा ९ को संयोजन हो । चौलागाई यही नौ ग्रह संयोजन भएर पशुपति क्षेत्र बनेकै बेला सूर्यघाटको संरचना बनेको बताउँछन् ।
पशुपतिका उत्तरबाहिनीघाट, गौरीघाट, देवघाट, आर्यघाट, भस्मेश्वरघाट, रामघाट, राजराजेश्वरीघाट मुख्य हुन् । यी सबै घाटमा दाहसंस्कार गरिन्छन् । सूर्यघाटचाहिं दाहसंस्कार गर्ने नभई पाञ्चायन साधना गर्ने ठाउँ हो । पाञ्चायन पूजा फरक–फरक सम्प्रदायमा फरक–फरक देवतालाई केन्द्रमा राखेर साधना गरिन्छ । विष्णुभक्तले विष्णुलाई केन्द्रमा राख्छन् । शिवभक्तले शिवलाई केन्द्रमा राख्छन् । छेउमा गणेश, शिव, भगवती र सूर्यलाई राख्छन् । सूर्यभक्तले सूर्यलाई केन्द्रमा राख्छन् । कुनामा गणेश, शिव, विष्णु र दुर्गा भगवतीलाई राख्छन् । ‘यहाँ गरिेने सूर्यपूजा समान्य होइन,’ चौलागाई भन्छन्, ‘यो वेदमै व्यवस्था भएको पूजा हो ।’
विज्ञअनुसार, यो मूर्तिमा बलिष्ठ पाखुरा छन् । चौडा छाती छ । कम्मरमुनि पेटी बाँधिएको धोती लगाइएको छ । मूर्ति अर्धनग्न छ । यो मूर्तिलाई लिच्छविकालीन अनुपम सम्पदाका रूपमा लिइन्छ । यो मूर्ति अहिले राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ ।
पशुपति आर्यघाटको परिसरमा पनि सानो तेर्साे परेको सूर्यमूर्ति छ । यो पनि लिच्छविकालकै मानिएको छ । यसलाई विरुपाक्षको आमाको मूर्ति पनि भन्ने गरेका छन् । यो मूर्ति हँसिलो छ । दुई घुँडा फारेर अग्लो आसनमा बसेको छ । हातपाखुरा र शरीर पुष्ट, सुसंगठित छन् । दायाँ हातले एउटा गोलो वस्तु र बायाँ हातमा कमलको फूल बोकिएको छ । कानमा कुन्डल लगाइएको छ । चौलागाई भन्छन्, ‘यी मूर्तिकलाले लिच्छविकालीन मूर्तिकला, धर्म र संस्कृति बुझ्न सकिन्छ । भावी पुस्तालाई यी कुरा देखाउन संरक्षण गर्नुु हाम्रो पुस्ताको दायित्व हो ।’