रानीपोखरीको रानो
श्रोतः https://www.kantipurdaily.com/opinion/2018/09/15/153698063312827450.html भाद्र ३०, २०७५गौरीबहादुर कार्की
रानीपोखरीको विवाद चर्काउनुभन्दा भक्तपुर नगरपालिकाको अनुशरण गर्ने वा सोही नगरपालिकालाई जिम्मा दिने हो भने समयमै पोखरी र बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकै पालाको रूपमा पुनर्निर्माण हुन सक्नेछ ।
काठमाडौँ — भक्तपुरको रानीपोखरी बनेको ४० वर्षपछि कान्तिपुरमा राजा प्रताप मल्लले ने.सं. ७९० अर्थात् १७२७ सालमा रानीपोखरी निर्माण गराएका थिए । आजभन्दा ३४८ वर्ष पहिले । छोरा चक्रवर्तेन्द्र मल्लको अचानक मृत्युको शोकले डुबेकी रानीलाई शान्त्वना दिन र मन बहलाउन ।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले रानीपोखरीको मध्यभागको बालगोपालेश्वरको मन्दिर भत्केपछि पुनर्निर्माण सम्बन्धी विवाद अझै टुंगिएको छैन । रानीपोखरी बीचको यो मन्दिर कस्तो स्वरुपमा बनाउने ? मन्दिर र रानीपोखरी पुनर्निर्माण गर्ने सम्बन्धमा पुरातत्त्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा काठमाडौं महानरगपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभाग समेतका ११ सदस्यीय विज्ञटोली गठन भएको थियो । टोलीले बीचको मन्दिर प्रताप मल्लकै पालाको स्वरुपमा ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सुझाव दियो । पुरातत्त्व विभागका विज्ञले सहमति जनाएनन् । जंगबहादुरको पालामा नयाँ स्वरुपमा बनेकोमा १९९० सालको भूकम्पमा भत्केपछि जुद्धशमशेरले गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए ।
प्यागोडा वा छत्रे शैलीमा छानाको तहैतह बनाएर लगिन्छ । शिखर शैलीमा तलबाट माथितिर क्रमश: सानो हुँदै चुच्चो पारेर बनाइन्छ । दुवैको टुप्पामा गजुर हालेर टुंग्याइन्छ ।
अहिले प्रतापमल्लकै पालामा बनेको शिखर शैलीको रानीपोखरीको मन्दिरसहितको चित्र देखिन आएको छ । सन् १८४५ (वि.सं. १९०२) प्रेmबुअरीमा तत्कालीन प्रसियाका राजकुमार वाल्डमार तिब्बत भई नेपाल घुम्न आएका थिए । उनको साथ आएका कलाकारले बनाएको चित्रमा शिखर शैली देखिन्छ । चित्रमा रानीपोखरीको स्वरुप र मन्दिरमात्र होइन, पृष्ठभूमिमा स्वयम्भु र नागार्जुन डाँडोसमेत हालकै अवस्थामा देखिन्छ ।
उक्त चित्रलाई उनीभन्दा १ सय २४ वर्ष अगाडि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा विवरणले पनि पुष्टि गर्ने विष्णुराज कार्कीको भनाइ छ । त्यस्तै, तत्कालीन इष्ट इन्डिया कम्पनी, कलकत्तामा काम गरेपछि नेपालको बेलायती रेसिडेन्सीमा सर्जन भएर एच.ए. ओल्डफिल्ड आएका थिए । उनी सन् १८५० देखि १८६३ सम्म १४ वर्ष नेपाल बसे । सर्जन भए पनि उनलाई भारत आउनु अघि नै चित्रकलामा पारंगत पारिएको रहेछ । क्यामेरा आविष्कार भइनसकेकाले उनले नेपाली सम्पदाका धेरै चित्र बनाए । अन्य कलाकारलाई पनि बनाउन लगाए ।
नेपालका सम्पदालाई बिगार्ने काम गरेकोमा दुइटाका सम्बन्धमा आलफिल्डले टिप्पणी गरेको पाइन्छ । पहिलो, काठमाडौंको रानीपोखरीको बीचको त्यो अत्यन्तै सुरम्य वस्तुलाई जंगबहादुरले सन् १८५१ (सम्वत् १९०८) मा भत्काई इँटा र प्लाष्टरका कुरूप संरचना बनाए । जंगबहादुरले बनाएको मन्दिरको तस्बीर पनि पाइएको छ । तर डा. डिल्लीरमण रेग्मीले तीनतले छानेशैलीको भनेका छन् । मेरी स्लसरले परम्परागत छानेशैलीको मन्दिर । १९९० सालको भूकम्प अगाडिको एउटा तस्बीर फेला परेको छ । रेग्मीले भनेजस्तो छत्रेशैलीको मन्दिरको चित्र भने फेलापरेको छैन ।
रानीपोखरीमा विभिन्न ५१ तीर्थस्थलको जल ल्याएको ठ्यासफुमा उल्लेख छ । राजा प्रताप मल्लले पोखरी खनाउनु पूर्व तीर्थयात्रा गरेको देखिन आयो । ‘राजा प्रताप मल्लको तीर्थयात्रा १६६९ इ.सं.’ भन्ने ठ्यासफु भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा छ । (जनैपूर्णिमादेखि रानीपोखरीसम्म, डा. महेशराज पन्त, २०७४, खिलशर्मा राजीवलोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौं)
पोखरीको बीचको विमलेश्वर वा बालगोपालेश्वरको मन्दिर पुरातत्त्व विभागले र अरु काम महानगरपालिकाले बनाउन थालेका थिए । तर दुवै काममा विवाद आयो । पुरातत्त्व विभागले पोखरी बीचको मन्दिर सिमेन्टको पिलरमा बनाउन थालेको थियो । महानगरले पोखरीको किनाराबाट १५ फिटमा आरसीसी ढलान गरेर पर्खाल लगाउन थालेको थियो । दुवै काम पुरातात्त्विक हिसाबले गलत थिए । ३४८ वर्षअघि राजा प्रताप मल्लको पालामा जुन प्रविधि प्रयोग गरेर पोखरी निर्माण गरियो, महानगरले पुनर्निर्माण सुरु नगरेसम्म त पानी अडिरहेकै थियो । त्यही प्रविधिमा अहिले पनि पुनर्निर्माण गरिनुपर्ने भन्ने संस्कृति विज्ञको भनाइ पाइन्छ ।
जंगबहादुरको पालाको बालगोपालेश्वर मन्दिर।
जंगबहादुरको बेलायत यात्रापछि नेपाली परंपरागत शैलीका मन्दिर, भवन आदि भत्काएर बेलायती शैलीमा निर्माण गरियो । रानीपोखरीको बीचको मन्दिर पनि सुरुमा शिखर शैलीमा थियो । जङ्गबहादुरले गुम्बज शैलीमा बनाए । १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले धरहरा र रानीपोखरीको बालगोपालेश्वर मन्दिर २ वर्षमै पुनर्निर्माण गराए । अहिले यी दुवै संरचना पुनर्निर्माणमा थरीथरीका विवाद आइरहेका छन् । राजनीतिक खिचलो, पुरातत्त्व विभागको नेतृत्वमा भ्रम आदिले निर्माण सम्पन्न गर्ने गराउनेतिर एकमत आउन सकेन । पोखरी बीचको मन्दिर महानगरपालिकाले कंक्रिट प्रयोग गरेर बनाउन लागेकोमा पुनर्निर्माण प्राधिकरणको हस्तक्षेपपछि पुरातत्त्व विभागले निर्माण गर्न थाल्यो ।
पुरातत्त्व विभाग स्वयं पोखरी बीचको मन्दिर जुद्धशमशेरको पालाको गुम्बज शैलीमा निर्माण गर्न तम्सिएको छ । जंगबहादुरले बनाएकोलाई सय वर्ष पुरानो भनी पुरातात्त्विक महत्त्व दिने हो भने पनि १९९० सालपछिको गुम्बज शैली पुरातात्त्विक होइन । पुरातात्त्विक महत्त्वको हुन सय वर्ष पुगेको छैन ।
पुरातात्त्विक महत्त्वका मन्दिर र सम्पदाको पुनर्निर्माण भनेको संस्थापक निर्माताले जस्तो रूपमा निर्माण गरेको थियो, त्यस्तै रूपमा बनाउने हो । मूल रूपमा निर्माण गर्न कुनै कठिनाइ भएमात्र नयाँ स्वरुपमा त्यो पनि विज्ञहरूको सर्वसम्मतिबाट विवाद नआउनेगरी परम्परागत शैलीमा निर्माण गर्नुपर्छ । रानीपोखरी बीचको मन्दिरको स्वरुप भनेको पहिलो पुरानो चित्रकै हो । निर्माण कार्यमा परम्परागत प्रविधि, शैली, निर्माण सामग्री प्रयोग गर्नेतिर हाम्रा महानगरपालिका र पुरातत्त्व विभागले ध्यान दिन सकेनन् । विज्ञहरूको सुझाव लिने परम्परागत प्रविधि औंल्याउने र अनुशरण गर्नेतिर जिम्मेवार पदाधिकारी किन बिच्किए ?
२ दशक अगाडि सिद्धपोखरी सुक्यो, भक्तपुर नगरपालिकाले मर्मत गरेपछि अहिले पानीले भरिएको छ । माछा पालिएको छ । त्यहाँ कंक्रिट ढलान नगरिकनै प्राचीन प्रविधिमा जमिन सतहभन्दा माथिको पोखरीमा पानी अडेको छ भने रानीपोखरीमा किन पानी अडाउन सकिँदैन ? राजधानी उपत्यकाका नगरपालिकामध्ये सम्पदा पुनर्निर्माणमा भक्तपुर उम्दा छ । परम्परागत शैली र प्रविधिमा मन्दिर पुनर्निर्माण, पोखरी जीर्णोद्धार गर्नेमा । जुन काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले नै स्वीकार गर्नुभएको छ । पहिले नै पाँचतले मन्दिर र ५५ झ्याले दरबार पुनर्निर्माण गरेकाले २०७२ सालको महाभूकम्पमा क्षति पुगेन, बँच्यो ।
२०७२ सालको भूकम्पअघिको बालगोपालेश्वर मन्दिर।
३५० वर्षसम्म पानी नसुकेको रानीपोखरीमा महानगरपालिकाले हात हाल्ने बित्तिकै पानी सक्यो । कर्णाली लगायत ठूला नदी बहेको पानी बीचमा पुलको जग खडा गरिन्छ । तर हाम्रो रानीपोखरीलाई बचाउनेभन्दा पनि स्विमिङ पुल बनाएर व्यापार गर्नेतिर सोचिएकाले यी यावत समस्या र विवाद सिर्जेका हुन् ।
रानीपोखरीको विवाद चर्काउनुभन्दा भक्तपुर नगरपालिकाको अनुशरण गर्ने वा सोही नगरपालिकालाई जिम्मा दिने हो भने समयमै पोखरी र बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकै पालाको रूपमा पुनर्निर्माण हुन सक्नेछ ।
महानगरले पोखरीभित्र स्विमिङ पुल बनाउने दुराशयले कंक्रिटको पर्खाल बनाउने काममा ३ करोड स्वाहा पारिसकेको छ । अब यो मन्दिर गुम्बज शैलीमा बनाउन विभागले ठेक्का दिएर जति नोक्सान पारे पनि राष्ट्रिय सम्पदालाई प्रताप मल्लकालीन शैलीमा बचाउनुपर्छ ।
जसको लागि नागरिक समाज, सम्पदा सरोकार समूहहरू सक्रिय हुनुपर्छ । पुरातत्त्व विभागले गुम्बज शैलीमा चालु राखेको बालगोपालेश्वरको मन्दिर निर्माण रोकिनुपर्छ । पहिले जति गल्ती गरे महानगरका मेयरले, यो मन्दिरलाई आफ्ना पुर्खा प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न–गराउन अघि बढ्नुको विकल्प छैन ।