श्रोतः https://www.kathmandupati.com/news/yasto-theyo-killa-kada-ten-photo/32433/?fbclid=IwAR3AGH6vAhvp7F6GDvSH1oTg9EeYdpXb8Zzd5xm6OTpKh6dpJy1s-N5lwbs
Basant Khadka
हिमाचल – पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ? पश्चिममा काँगडा पूर्वमा टिस्टा दक्षिणमा गंगा नदी र उत्तरमा हिमालय बिशाल नेपाल आर्जेका हाम्रा वीर पुर्खा,आजभन्दा दुई सय बाह्र वर्षअघि नेपाल एकीकरणका क्रममा गोर्खाली फौज काँगडा किल्लाबाट सतलज नदीवारि फर्केका थिए ।
सन् १८०६ मा तत्कालीन बडाकाजी अमरसिंह थापाको नेतृत्वमा फौज काँगडा किल्ला पुग्यो । चार वर्ष युद्ध गरेर हार खाएपछि फर्किएको थियो । नेपाली सेनाको फौजले काँगडा कब्जा गरी त्यहाँका राजा संसार चन्दलाई ढुंगैढुंगाको किल्लाभित्र थुनेका थिए । नेपालको सिमाना सतलजभन्दा पनि पर व्यास नदीसम्म कायम भयो। हाल पाकिस्तान, चीन र भारतबीच कचिंगलको विषय रहेको कश्मीरसमेत विशाल नेपाल राज्यभित्र एकीकृत गर्ने त्यो फौजको सपना रहेकाे थियो ।
काँगडा वरपरका दर्जनौँ राज्यलाई कज्याएका सम्राट नेपालीको शक्तिसामु निरीह हुंदै गयाे । उनको विशाल साम्राज्य खुम्चिँदै गएर काँगडाको एउटा थुम्कोमा बनाइएको ढुंगे किल्लाभित्र सीमित हुन पुग्यो । त्यही बेला नेपाली फौज, प्रशासक र सामाजिक क्षेत्रका अभियन्ताहरू काँगडा क्षेत्रमा छरिए । यतै घरबार बसाए । भूगोल नेपालभित्र नरहे पनि त्यो पुरानो इतिहास सम्झाउने गरी नेपालीहरू यस क्षेत्रमा पुस्तौँदेखि छरिएर बसिरहेका छन् । तीमध्ये पनि सीमित परिवार आफ्नो नेपाली पहिचान जोगाएर अझै बसिराखेका छन्।
अमर सिंह थापाको राज्य विस्तार अभियानमा फौजी मात्रै थिएनन्। फौजका सहयोगी, व्यवस्थापक, प्रशासक र धार्मिक-सामाजिक क्षेत्रमा काम गर्ने गैरसैनिक नेपालीको जत्था पनि साथै काकंडामा गएको थियो । देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अंग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अंग्रेजहरूले बनाएको स्मारक छ। त्यससँगै जोडिएको जंगलको भिरालो शिरमा नेपालीहरूले केही वर्षअघि बनाएको बलभद्र खलंगा युद्ध स्मारक छ। काँगडाका राजा संसार चन्दलाई तीन वर्षसम्म किल्लाभित्र थुनियो। यसबीचमा कैयौँ लडाइँ भए। सामाजिक उथलपुथल भए। युद्धनीतिमा मतभेद हुँदा नेपाली फौजको प्रदर्शन कमजोर बन्यो। उता संसार चन्दले पन्जाबका अर्का शक्तिशाली रणवीर सिंहसँग सहायता मागे।
काँगडा सहरको दक्षिण–पश्चिम भागमा अवस्थित किल्ला प्रवेशद्वार (महाराजा रणजित सिंह गेट) पुग्नुभन्दा पहिला दायाँतिर राखिएको बोर्डमा लेखिएको छ, ‘नेपालका अमरसिंह थापाको नेतृत्वमा चार वर्षसम्म काँगडा किल्लाको घेराबन्दी भयो । गोर्खा्विरुद्ध सहायता गर्ने आश्वासनपछि यो किल्ला महाराजा रणजित सिंहलाई समर्पित गरियो । १८४६ सम्म यो किल्ला शिखको अधीनमा रहेपश्चात् अंग्रेजको अधीनमा आयो । ४ अप्रिल १९०५ को महाभुकम्प जानुभन्दा केहीपहिला मात्रै अंग्रेजले किल्ला खाली गरेका थिए ।’
यो किल्ला महाभारत युद्धलगत्तै सुशर्मा चन्दले निर्माण गरेको किंवदन्दी छ । इतिहासकारहरूका अनुसार सन् १६२० मा काँगडा किल्ला मुगल राजा अकबरका छोरा जहाँगिरले कब्जा गरे । त्यसवेला हरि चन्द राजा थिए । सन् १८७९ मा हरि चन्द द्वितीयले मुगलको हातबाट काँगडा किल्ला हात पारे । महाराजा संसार चन्दले शिख र गोर्खासँग युद्ध लडे । अमरसिंह थापा नेतृत्वको फौजले उनलाई चार वर्ष बन्धकजस्तै बनाएको थियो । त्यतिवेला उनी शक्तिशाली राजा मानिन्थे ।
उनले गोर्खा फौजलाई हराउन पन्जाबका राजा रणजित सिंहसँग सन्धि गरे । जसका कारण सन् १८०६ मा गोर्खाली फौजले शिख र काँगडाको संयुक्त फौजसँग सामना गर्नुप¥यो । चार वर्षभन्दा धान्न नसकेपछि गोर्खा फौज सन् १८०९ मा काँगडा छाडेर सतलज नदीवारि आयो । त्यसको १८ वर्षपछि संसार चन्दको निधनसँगै रणजित सिंहको अधीनमा काँगडा आयो । तर, १८४६ मा बेलायतले शिखलाई पराजित गरी काँगडा अधीनमा लियो र ४ अप्रिल १९०५ मा ठूलो भूकम्प जाने वेलाभन्दा केही पहिलासम्म पनि बेलायतकै कब्जामा थियो ।
अंग्रेजको अधीनमा रहेपछि जय चन्द र धु्रव देव चन्दलाई महाराजाको दर्जा दिइयो । धु्रवदेव चन्दले भारत स्वतन्त्र भएपछि काँगडा राज्य भारतलाई बुझाए र परिवारसहित लन्डन गए । इतिहासविद्का अनुसार चार वर्ष काँगडा किल्ला अमरसिंह थापा नेतृत्वको गोर्खाली फौजले कब्जामा लिएको थियो र राजा संसार चन्दलाई बन्धक बनाएको थियो ।
इतिहासमा विद्यावारिधि गरेका पूर्वसहायकरथी डा. प्रेमसिंह बस्नेतले लेखेका छन् किल्ला जित्न बडाकाजी अमरसिंह थापाले नेपाल एकीकरण अभियानमा करिब तीन वर्ष कांँगडा किल्ला (जसलाई नगरकोटको किल्ला पनि भनिन्छ)लाई घेरा हालेर बसेको अवस्थामा काठमाडौंबाट भीमसेन थापाले आफ्ना भाइ काजी नयनसिंह थापाको नेतृत्वमा ठूलो फौज पठाई तुरुन्त हमला गर्ने आदेश दिएका थिए । त्यहाँ पुगेपछि अमरसिंह र नयनसिंहको ‘तुरुन्त हमला गर्ने र नगर्ने’ भन्ने कुरोमा ठूलो विवाद पर्यो
उनका अनुसार बडाकाजी अमरसिंह र जनरल अमरसिंह थापा (भीमसेनका पिता)को सन्तानबीचको जुँगाको लडाइँले एउटै देशको सेना आधा लडाइँ गर्ने र आधा हेरेर बस्ने अकल्पनीय घटना घट्यो । किल्ला काँगडाको युद्धमा हारेपछि नेपाली फौज सतलज नदी तरेर विलासपुर फर्किनुपर्यो र किल्ला—काँगडा नेपाल एकीकरणको पूर्ण्विराम नै बन्यो । इतिहासका अर्का जानकार डा. दिनबहादुर थापाको लेखमा उल्लेख छ– नेपाली फौज सहजै गढवाल, देहरादुन, बाह्र र अठार ठकुराइका रूपमा रहेका स–साना राज्य कब्जा गर्दै सतलज तरेर राजा संसार चन्दको राज्य काँगडामा प्रवेश गर्यो ।
नेपाली फौजले यो किल्ला (काँगडा) चार वर्षसम्म अविरल युद्ध गर्दा पनि तोड्न सकेन । नयनसिंह थापाको नेतृत्वमा थप फौज पठाइयो । यसमा नयनसिंह थापाले समेत वीरगति प्राप्त गरे । संसार चन्दलाई पन्जाबकेशरी रणजित सिंहले सहयोग गरेपछि नेपाली फौज सतलजभन्दा पारि जान सकेनन् । काँगडाको यो किल्ला हात पारेमा नेपाली फौजलाई कास्मिरसम्म पुग्न त्यति कठिन थिएन ।’ तिब्बति धर्मगुरु दलाइ लामाको बसोवास रहेको धर्मशालाबाट २० किलोमिटर छ, यो स्थान । बाणगंगा र मान्झी नदीको संगमछेउमा रहेको काँगडा किल्ला भारतको आठौँ ठूलो किल्ला