मन्त्री अधिकारीद्वारा छाउनीस्थित राष्ट्रिय संग्रहालयको अवलोकन

स्रोत : https://setopati.com/social/161745

सरकारले संघको मातहतमा ३ वटा मात्रै संग्रहालय राख्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले संघको मातहतमा राष्ट्रिय संग्रहालय, नारायणहिटी ऐतिहासिक संग्रहालय र नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय रहने प्रष्टयाएका हुन्।

सोमबार छाउनीस्थित राष्ट्रिय संग्रहालयको अवलोकनपछि मन्त्री अधिकारीले अरु सबै संग्रहालय स्थानीय तहलाई विधिवत रूपमा हस्तान्तरण गर्ने घोषणा पनि गरे।

उनले सबै जातीय संग्रहालयलाई मिलाएर नेपाल राष्ट्रिय सांस्कृतिक संग्रहालय बनाउन लागिएको पनि जानकारी दिए। सरकारले सो संग्रहालय ललितपुरको चम्पादेवीमा बनाउन सुरू गरिसकेको छ।

मन्त्री अधिकारीले राष्ट्रिय संग्रहालयको उचित व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिए।