मूर्तिले ठाउँ चिनाउँदै

श्रोतः https://www.kantipurdaily.com/pradesh-1/2018/09/15/153698531810111705.html भाद्र ३०, २०७५चन्द्र कार्की

तेह्रथुम — उनले बनाएका मूर्ति र स्तम्भले नेपालका धेरै ठाउँलाई चर्चित बनायो । उनैले बनाएका मूर्ति हिन्दु, बौद्ध, मुस्लिमलगायत सबै धर्म र जातिका मन्दिरमा सजिएका छन् । उनले जुन ठाउँमा स्तम्भ बनाए, त्यो ठाउँले देशविदेशमा चर्चा पाएको छ । कतिपय स्थान पर्यटकीय क्षेत्र नै बनेका छन् ।

धर्मदेवी नगरपालिका ४ माम्लिङ संखुवासभाका ५१ वर्षीय चन्द्रमान लिंखा पूर्वकै सिपालु मूर्तिकार हुन् । २५ वर्षभन्दा बढी समय उनले देशका विभिन्न स्थानमा मूर्ति र स्तम्भ बनाएर बिताए । यति धेरै काम गरे पनि उनले कतैबाट सहयोग लिएनन् ।

लिंखाले गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार बसन्तपुरमा फुलिरहेको गुराँसको बोट बनाएर पर्यटक आकर्षित गराइदिए । गुराँस भूमि तीनजुरेको फेदी आरआर गार्डेनमा लिंखाले जंगली जनावरको आकृर्ती कोरेर पर्यटक लोभ्याउने प्रत्यन गरेका छन् ।

जंगलमा पाइने बाघदेखि समुद्रमा पाइने घडीयाल गोहीसम्मका आकृति उनले जंगलमा रहेका ढुंगामा कोरेका छन् । त्यस्तै तेह्रथुमकै लसुने बजारमा पोटीसहितको लसुनको स्तम्भ उनले बनाएका छन् । लिंखाले बनाएको लसुन स्तम्भले लसुने क्षेत्रको पहिचान दिएको स्थानीयवासी समेत रहेका युवा व्यवसायी धर्मराज खडकाले बताए । यो पोटीसहितको लसुन स्तम्भमा दैनिक सयौं पर्यटक तस्बिर खिचाउन आउने गरेको उनले बताए । लसुुन पोटीमा तस्बिर खिचाएर रमाउन आउनेहरूका कारण लसुने क्षेत्रको होटल व्यवसाय समेत राम्ररी फस्टाएको छ ।

मूर्तिकार चन्द्रमान लिंखाले बनाएका लसुनको स्तम्भ ।तस्बिर : चन्द्र

लिंखाले सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ बनाएका छन् । म्याङलुङ नामकरणसँग बिरालोको सम्बन्ध जोडिएकाले यहाँका लिम्बू समुदायको पहलमा बिरालोको स्तम्भ निर्माण गरीएको किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव तेजमान कन्दङबाले बताए । यो स्तम्भमा प्रत्येक घण्टा बिरालो कराउने प्रविधि जडान गरिएको छ । समयको सूचक यही बिरालो बनेको छ ।

अहिले यो क्षेत्रले म्याङलुङ स्तम्भको नाममा चर्चा बटुलिरहेको छ । लिंखाले संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुडेशनिश्चरे बजारमा किरातीहरूको प्रथम राजा हाङ यलम्बरको पूर्ण कदसहितको मूर्ति पनि बनाएका छन् । यलम्बर पार्कका नामले यो क्षेत्र अहिले चर्चामा छ । मुडेशनिश्चरे बजारसम्म पुग्नेहरू यो मूर्तिमा तस्बिर नखिचाई फर्किदैनन् ।

मोरङको पथरीमा सिरीजंगा, मकवानपुरको हेटौंडामा बिश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको सालिक बनाएका छन् । तेह्रथुमकै फाक्चामारामा फाल्गुनन्दको सालिकलगायतका ३ सय बढी मूर्ति र स्तम्भ उनले बनाइसकेका छन् । अहिले संखुवासभाको मुडेशनिश्चरे बजारमा फुलिरहेको चाँपको रूख निर्माणमा लिंखा व्यस्त छन् । धर्मदेवी नगरपालिकाको माम्लीङस्थित याख्खा चोकमा याख्खा जातिको संस्कारमा आधारित डोकेनी स्तम्भ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

मूर्तिकार चन्द्रमान लिंखाले बनाएका बिरालोको स्तम्भ ।तस्बिर : चन्द्र

लिंखा केही समयअघि विश्वमा कहलिएका मूर्ति र स्तम्भको अवलोकन र अध्ययन गर्न आफ्नै खर्चमा अमेरिकासम्म पुगे । एक महिनासम्म त्यहाँका सहरमा विश्वभरका कलाकारले बनाएका मूर्ति र स्तम्भको उनले अध्ययन गरे । खर्च अभावमा बसाइ छोट्याउनु पर्दा अमेरिकाका चर्चित मूर्तिकार र स्तम्भ निर्माण गर्ने कलाकारसँग भेट गर्ने उनको इन्छा भने अधुरै रह्यो । अरू केही समय त्यहीं बसेर मूर्तिकला र बास्तुकलाका बारेमा जानकारी लिने उनको इच्छा थियो । तर त्यो पनि छोटो अवधिको बसाइमा सम्भव नभएको उनले बताए । एक महिनासम्मको अध्ययन भ्रमणपछि केही दिनअघि उनी नेपाल फर्किएर पुरानै काममा तल्लिन छन् ।